काठमाडौं – नेकपा एमाले दैलेखको नयाँ नेतृतवका लागि भएको निर्वाचनको मतगणना स्थगित भएको छ । सातौँ अधिवेशन अन्तर्गत नेतृत्व चयनको निर्वाचन प्रक्रियामा फर्जी मत विवादपछि मतगणना स्थगित गरिएको हो ।
७२१ प्रतिनिधिमध्ये ७१७ मत खसेको निर्वाचन समितिले जानकारी दिएको थियो । तर पछि मतगणना गर्ने बेला ७४८ मत भेटिएका थिए । त्यसपछि विवाद सुरु हुँदा मतगणना स्थगित भएको हो । एमाले दैलेखको अध्यक्ष पदका लागि रविन्द्रराज शर्मा र सूर्यबहादुर शाही मैदानमा छन् ।
यस्तै नेकपा एमाले सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित भएका छन् । आज बिहान सम्पन्न पदाधिकारीतर्फको मतगणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गर्दै बिसी निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार खसेको ६४९ कूलमतमध्ये बिसीले ३६८ र शर्माले २६७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएको निर्वाचन समितिका सदस्य रामबाबु बिसीले बताए ।
यस्तै नेकपा एमाले बाजुराको अध्यक्षमा पुनः कालीबहादुर शाही निर्विरोध चयन भएका छन् । एमालेको सातौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा भरतबहादुर बुढा, सचिवमा भरतबहादुर थापा, उपसचिवमा जनककुमार बोहरा र हरिबहादुर रोकाया निर्विरोध चयन हुनुभएको निर्वाचन कमिटीका प्रमुख दिलीपबहादुर शाहीले बताए ।
एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाको संयोजकत्वमा बनेको अध्यक्षमण्डलले सर्वसम्मत जिल्ला कमिटी छनोट गरेको हो ।
