काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् । उनले शुक्रबार राजीनामा दिएका छन् ।
उनी भण्डारीको पहिलो कार्यकालमा दुई वर्ष र दोस्रो कार्यकालमा करिव २ वर्ष विज्ञ सल्लाहकार थिए ।
फौजदारी अभियोग लागेका अग्नि सापकोटा सभामुख बन्ने पक्का भएपछि असन्तुष्टि जनाउँदै शुक्रबार राजीनामा दिएका हुन् ।
उनले राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् । उनको राजीनामा भने स्वीकृत भइसकेको छैन ।
सापकोटाविरूद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ ।
सोही मुद्दामा अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै २०७२ चैत २६ गते प्याकुरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा फैसला भइसकेको छैन । ०६२ सालमा काभ्रेका लामाको हत्या भएको थियो ।
आफैले विगतमा रिट हालेका व्यक्ति सभामुख बन्न लागेपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रतिनिधिसभाको सभामुखमा सापकोटाको मात्र उमेदवारी परेको छ ।
मानवअधिकार आयोगका पूर्वआयुक्तसमेत रहेका प्याकुरेलले राजीनामापत्रमा सापकोटाको बारेमा उल्लेख नगरे पनि कानुनी सर्वोच्चताका लागि लड्नका आफ्नो राजीनामा भएको उल्लेख गरेका छन् ।
“संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य मान्यता र कानुनी सर्वोच्चताको अक्षरस: कार्यान्वयनका लागि शासकीय मामिलासम्वद्ध औपचारिक परिधिभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत,” भएको भन्दै उनले राजीनामा दिएका हुन् ।
