पूर्व डिआइजी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाहसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
शाहसहित चारजनाले प्रहरी जवानहरुकोे तलव भत्ता निकालेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । उनीहरुले ३३ लाख ३८ हजार ८४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवनका तत्कालीन समादेशक तथा पूर्वडिआइजी शाह, लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्रप्रसाद पनेरु, लेखा सहायक हवल्दार केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव विशंखेविरुद्ध आयोगले मुद्दा दर्ता गरेको हो । उनीहरुले तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवनमा २०७२ वैशाख २७ मा प्रहरी जवानमा भर्ना भई २०७२ पुस २२ मा तालिम सकिएका जवानहरुको २०७२ माघ र फागुनको तलव भत्तासमेत खर्च लेखि निकालेर आफैंले चलाएर भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।
त्यस्तै मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र, सिन्धुलीमा आर्थिक वर्ष २०७२/०७३ मा कार्यालय प्रमुखको रुपमा कार्यरत शाह, लेखापाल पनेरु तथा लेखा सहायक हवल्दार ऐरीले १०३ प्रहरी जवानको माघ र फागुन महिनाको तलब भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । २०७२ माघ ३ गतेदेखि १४२ जना जवान भर्नाकामा माघ १ गतेबाटै गणना गरेर दुई दिनको तलब १ लाख ४९ हजार ६ सय १६ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।