के रहेछ भजन र कीर्तनमा फरक ? यस्तो छ आध्यात्मिक तथा वैज्ञानिक महत्त्व

आषाढ शुक्ल एकादशी जसलाई हरिशयनी एकादशी भनिन्छ र कार्तिक शुक्ल एकादशी जसलाई हरिबोधिनी एकादशी भनिन्छ यी दुई एकादशी बिचको करिब ४ महिनाको अवधिलाई चौमासा समेत भन्ने गरिन्छ। यस अवधिमा हिन्दुहरूका महत्त्वपूर्ण चाडपर्वहरू पर्दछन् र ती सबै चाड पर्वहरू लगायत यस अवधि भित्र पर्ने हरेक एकादशी, साउने सोमवारहरू तथा अन्य दिनहरुमा समेत हाम्रा विभिन्न मठ, मन्दिर तथा शक्ति पीठहरूमा भजन कीर्तनहरू गर्ने गरिन्छ। यसै प्रसङ्गमा मैले आज भजन कीर्तनका बारे एउटा सानो लेख लेख्ने प्रयास गरेको छु।

भजन कीर्तनका आफ्नो शाब्दिक अर्थहरू होलान्, यी दुई शब्दमा भिन्नता होलान् तर हाम्रो सामान्य बुझाइमा आध्यात्मिक शान्तिको खोजी यात्रामा गीत सङ्गीतको माध्यमबाट भगवानको स्मरण गर्नु ऊसँग साक्षात्कार हुने कोसिस गर्नु नै भजन कीर्तन हो।

धर्म प्रति आस्था विश्वास राख्ने मानिसले आफ्नो अमूल्य जीवनका लागि भगवानको कृपा प्रति आभारी हुँदै आफ्नो जीवन सदा शुभ मङ्गलको लागि भगवानको प्रार्थना पनि गर्ने गर्दछ। यसरी भगवानसँग प्रार्थना गर्ने, आस्था दर्साउने तथा स्मरण विभिन्न माध्यमबाट गर्न सकिन्छ। ती मध्ये सहज रूपमा भगवान् प्रति समर्पित हुने मध्यममा भनेको भक्ति गीत सङ्गीतलाई मानिन्छ। भक्ति सङ्गीतमा अहिले भजन र कीर्तन गरी दुई प्रकारका सङ्गीतहरू हाम्रो समाजमा प्रचलनमा रहेका छन् हेर्दा सुन्दा र सङ्गीतको भाव एउटै देखिए पनि भजन र कीर्तनमा केही फरक भने हुने रहेछ। अव भजन र कीर्तनको अर्थ, महत्त्व र यसका फरकहरु बारे चर्चा गरौँ।

भजन
सङ्गीतलाई शास्त्रीय, आधुनिक तथा लोक सङ्गीत गरी सामान्यतया तिन भागमा विभाजन गरिएको छ तर अहिले पप सङ्गीत, रक सङ्गीत तथा अन्य सङ्गीतका विधाहरू पनि रहेका छन् । भजन विशेष गरी कुनै देवी देवताको भक्ति भावमा गाइने आधुनिक सङ्गीत मानिन्छ। तर अहिले शास्त्रीय तथा लोक सङ्गीतमा समेत प्रशस्त भजनहरू गाइने गरिन्छ। भजन प्राय जसो स्टेजमा वा विशेष धार्मिक कार्यक्रम गाईने गरिन्छ। तर अहिले मन्दिरहरूमा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गरी भजन गर्ने गरिन्छ।

भजन शब्द संस्कृतको भजनम् वा भजबाट बनेको मानिन्छ। जसको अर्थ भगवान् प्रति श्रद्धा भक्ति प्रकट गर्नु, भगवानको सेवा गर्नु तथा गीत सङ्गीतको माध्यमबाट भगवानका गुणको वर्णन गर्नु भन्ने हुन्छ। भजनको अर्थ भाग लगाउनु वा बाट्नु भन्ने पनि बुझिन्छ अर्थात् आफूमा रहेको भक्ति भाव सङ्गीतको माध्यमबाट अरू भक्तजनहरूमा बाट्नु नै भजन हो। अर्को अर्थमा भगवान् प्रति समर्पण, आशक्त तथा स्तुति गान गर्नुलाई भजन भनिन्छ। भजनको माध्यमबाट नै भक्तले भगवान् प्रति समर्पित भएको महसुस गर्नुका साथै आध्यात्मिक शान्ति प्राप्त गर्न स्तुति गान तथा भक्ति भाव प्रकट गर्ने गर्दछ।

भजनमा प्रायः एउटा घटना, कथा वा विचारको वर्णन गरिएको हुन्छ। धेरै जसो भजनमा देवी देवताहरूको लागि प्रशंसा तथा उनीहरूको महिमाको बारेमा चर्चा गरिन्छ। भजन धेरै जसो एउटै गायकले गाउने गरिन्छ तर अहिले सामूहिक रूपमा पनि गाउने गरिन्छ। परम्परागत रूपमा भजन गाउँदा तबला, ढोलक, मुजुरा, आदि प्रयोग गर्ने गरिन्थ्यो भने अहिले धेरै किसिमका आधुनिक बाध्यबाजनहरुको समेत प्रयोग गर्ने गरिन्छ। भजन विशेष गरी मन्दिर, धार्मिक तथा ऐतिहासिक महत्वका स्थानहरूमा विशेष रूपमा कार्यक्रम आयोजना गरेर गाउने गरिन्छ। भजन सङ्गीत तथा कलाको एउटा विधा वा शैली हो। भक्ति मार्गको विकासको क्रममा अहिले विभिन्न धार्मिक सम्प्रदायहरूमा भजन सङ्गीतका आ आफ्नो तरिका तथा शैलीहरू समेत बढ्दै गएको देखिन्छ।

कीर्तन
कीर्तन एउटा संस्कृत शब्द हो यसको अर्थ हुन्छ वर्णन गर्नु, सुनाउनु वा विवेचना गर्नु हो। अर्को अर्थमा कीर्तन भन्नाले भगवानको नाम लिएर श्लोक उच्चारण गरेर स्तुति गान गर्ने, बखान गर्ने , प्रशंसा गर्नु लाई नै कीर्तन भनिन्छ। साथै कुनै धार्मिक समारोहमा भक्तजनहरू बाट गाइने गीतको शैलीलाई कीर्तन भनिन्छ।

वैदिक परम्परा अनुसार कुनै देवी देवताहरूको गरिएको वर्णनलाई गायकहरूले सामूहिक रूपमा गाइने सङ्गीत नै कीर्तन हो। कहिले भक्तजनहरू बिच प्रश्न उत्तरको रूपमा र कहिले एउटाले गाउने अरू समूहले दोहर्‍याउने गरेर कीर्तन गर्ने गरिन्छ। कीर्तनमा भक्तजनहरू एक आपसमा नाच्ने कुनै एउटै श्लोक दोहराई रहने गरिन्छ।

कीर्तनमा परम्परागत रूपमा बजाइने बाद्यबाजन हार्मोनियम, तबला, मादल, खैँजडी, मुजुरा आदि प्रयोग गरिन्छ भने भक्तजनहरू ताली बजाएर मात्र पनि भगवानको नाम उच्चारण गरी कीर्तन गर्दै भक्ति भाव प्रदर्शन गर्ने गरिन्छ। कीर्तन प्राय जसो हाम्रा चाड पर्वहरूमा मन्दिर, धार्मिक स्थल वा घरमै समूहगत रूपमा जम्मा भई भगवानको नाममा सङ्कीर्तन गर्ने गरिन्छ। विभिन्न धार्मिक अनुष्ठानहरूमा कीर्तन गर्न एउटा समूह तयार गरिएको हुन्छ जसलाई “भजन मन्डली” भनिन्छ उनीहरूले समूहगत रूपमा भजन भन्दा कीर्तनकै रूपमा प्रस्तुत गर्ने गरिन्छ।

भजन कीर्तनको महत्त्व
यथार्थमा अहिले भगवान् प्रति श्रद्धा भक्ति देखाउने भगवानको आराधना गर्दै विशेष कार्यक्रममा गाइने कलात्मक प्रस्तुति भएको आधुनिक सङ्गीत नै भजन हो भने परम्परागत रूपमा विभिन्न चाड पर्वहरूमा मठ, मन्दिर, निजी आवासमा तथा धार्मिक अनुष्ठानहरूमा विभिन्न देवी देवताहरूको समूहगत रूपमा गरिने स्तुति नै कीर्तन हो। भजन र कीर्तनमा केही प्रस्तुतिको भिन्नता भए पनि दुवैको उद्देश्य मानिसलाई भगवानसँग जोड्नु हो र भगवान् प्रति विश्वास बढाउनु हो। दुवै गायन शैली हुन् र दुवै आध्यात्मिक रूपमा धेरै लोकप्रिय छन्। भजन र कीर्तनले मानव मनलाई शान्ति र सकारात्मक ऊर्जा दिने काम गर्दछ भने मानिसको दिमागमा भरिएको निराशा वा नकारात्मक ऊर्जालाई निकालेर आत्मविश्वास बढाउँदै तिनीहरूलाई आशावादी बनाउँछ।

मानव जीवनको जन्म देखि मृत्यु सम्मको प्राकृतिक तत्त्व नै ईश्वरीय शक्ति हो जुन अदृश्य छ। त्यो शक्ति नै भगवान् को स्वरूप हो। मानिसले ज्ञान, कर्म र भक्तिको माध्यमबाट भगवान् सम्म पुग्ने प्रयास गर्छ। कर्म नित्य धर्म हो भने भक्ति उत्तम ज्ञान मार्ग हो। भक्ति, समर्पण तथा विश्वासबाट नै भगवानसँग एकाकार हुन सकिन्छ र जीवनमा शान्ति प्राप्तिको मार्ग भेटाउन सकिन्छ। भक्ति मार्ग तथा एकाग्रता कालागि भजन, कीर्तन, पुराण, स्मरण जस्ता आध्यात्मिक ज्ञान नै महत्त्वपूर्ण मानिन्छन्। भजन र कीर्तनले हृदयको चोट दुःख पिडालाई चाँडो मेटाउन सक्छ भने तत्पश्चात् गरिने भगवानको ध्यान तथा उपासना गरेमा हृदयमा शान्ति प्राप्त गर्न सकिन्छ भन्ने विश्वास गरिन्छ। भजन र कीर्तनको निरन्तर प्रयोगले मानिसमा सकारात्मक भावनाको विकास भई मानसिक समस्याबाट समेत मुक्ति पाउन सकिन्छ।

भजन कीर्तनको वैज्ञानिक प्रभाव
भजन र कीर्तनमा धेरै तालीको प्रयोग गरिन्छ। ताली बजाइ रहँदा हाम्रो मन डाइभर्ट भई आफू भित्र रहेको चिन्ता, तनाव, कुण्ठा बाट मुक्ति पाउन सकिन्छ भने हामीमा खुसी तथा उत्साहको भाव पैदा हुन्छ र मन खुसी, उत्साहित तथा सकारात्मक बन्न सक्छ। ताली बजाउनु एक प्रकारको सरल योग तथा व्यायाम पनि हो। यदि हामी नियमित रूपले ताली बजाउँछौ भने हाम्रा मांसपेशीहरू सक्रिय हुन्छन् जुन स्वास्थ्यको लागि महत्त्वपूर्ण मानिन्छ। चिकित्सकहरूका अनुसार हाम्रो हातमा एक्युप्रेशर प्वाइन्ट अत्यधिक हुन्छ। एक्सप्रेस पद्धतिमा यिनै हत्केलामा दबाइएर कतिपय रोगको उपचार गरिन्छ । यस्ता उपचार निकै प्रभावकारी हुने र कुनै साइड इफेक्ट पनि नहुने बताइन्छ। एक्युप्रेशर उपचार विधि हाम्रो प्राचीन कालिन प्रभावकारी उपचार विधि पनि हो।जब हामी ताली बजाउँछौँ, हत्केलाको एक्युप्रेशर प्वाइन्टमा राम्रो दबाब पर्छ र यसले हृदय रोग, फोक्सोको, नसाको रोग जस्ता अन्य थुप्रै रोगबाट मुक्त हुन सकिन्छ भने रक्तसञ्चार मा हुने अवरोधलाई हटाउँछ र रगत शुद्धीकरण गर्छ । स्वास्थ्य र निरोगीका लागि समेत ताली बजाउनु एकदमै फाइदाजनक देखिन्छ।

अन्तमा
भजन कीर्तन आध्यात्मिक ज्ञान र चिन्तनको प्रभावले सङ्गीतको माध्यमबाट भगवानसँग एकाकार हुने माध्यम हो। वैदिक सनातन धर्म र यसको विश्वासको आधार हो। मन मस्तिष्कमा बसेको गलत चिन्तन, मनन् र भावनालाई हटाउने आध्यात्मिक ऊर्जा पनि हो। भजन कीर्तन सुनेर वा गरेर कसैलाई ठूलै फाइदा नाफा नहोला तर घाटा भने अवश्य हुँदैन र केही हदसम्म मानसिक रूपमा शान्ति अवश्य प्राप्त गर्नेछ जुन जीवनको अन्तिम लक्ष्य हो। आफ्नो जीवनको अमूल्य समय थोरै भए पनि भजन कीर्तनमा दिऊँ जीवन सम्पन्न नभए पनि आनन्दमय अवश्य बन्नेछ।

(यस लेखका तत्थ्यहरुको श्रोत नेपाल तथा भारतमा प्रकाशित विभिन्न पत्रपत्रिका तथा विद्वानहरू द्वारा व्यक्त गरिएका विचारहरू रहेका छन्)

बिनोद पोख्रेल, स्वतन्त्र लेखक, धर्म संस्कृति तथा साहित्य प्रेमी
तुल्सिपुर उप महा नपा- १८ दाङ,बिजौरी
हालः काठमान्डौ

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको