मेरो स्कुले बाल्यकाल

  • टीकाप्रसाद भट्ट
रामेछापको मन्थली बेशींमा ७ कक्षा सम्म अध्यापन गर्ने विद्यालय थियो महेन्द्रोदय निमावि । राजा महेन्द्र भ्रमणमा आएको मौका छोपेर स्थानीय शिक्षाप्रेमीले पाठसाला माग गरेकाले राजाले बक्सिस दिएको हुदाँ महेन्द्रोदय नाम राखेको रे । स्व. हृदयराज शर्मा र स्व. शंकरप्रसाद सत्यालको प्रयासमा स्थापना भएको विद्यायमा स्व. भरतराज मन्थलीय र स्व. दानवहादुर थापाको पनि हात रहेको सुन्न पाईन्थ्यो । विद्यालय खुल्दा मन्थली बेसी तत्कालिन भलुवाजोर पञ्चायतमा पर्दथ्यो । २०३४ सालमा म कक्षा १ मा भर्ना भए । म भन्दा माथिका ३ वटी दिदीहरु विद्यालयनै जान पाउनुभएन । त्यो बेला छोरीलाई स्कुल पढाउने चलन थिएन । ठुलीदिदी शारदाको सानिमदांैका डिल्लीप्रसाद सुवेदी संग विवाह भएपछि मेरो विद्यालय जाने साईत जुरेको हो । भिनाजु बुटवलबाट बढेर आएपछि मन्थली स्कुलको शिक्षक हुनुभएको थियो । विद्यालय आउन मलाई झण्डै १ घण्टा लाग्थ्यो । साथि कोहि हुदैनथे । साह्रै डर लाग्थ्यो ।
त्यसबेला बाटोमा अलि जंगल थियो । कहिले कांहि दिदीहरुले भन्ज्यांग देखिने डाडां सम्म ल्याइदिनु हुन्थ्यो । म दिदीहरु संग छुटेपछि रुदैरुदै झर्थे । पिलन्धरे जिउको म अरु संग साह्रै डराउथे । एक दिन म स्कुल आउदै थिए, बाटोमा कुडहरबाट टेकनपुरको स्कुलमा पढाउने जाने शिवप्रसाद घिमिरे सर भेटीनुभयो । उहाँले मलाई केहि पर देखाएर त्याहाँ फट्याङग्रो व्यायर वसेको छ, मलाई कस्तरी लात्तले हान्यो, बचेंर जाउँ है, भन्नुभयो । सर संग छुटेपछि म त्यो फट्याङग्रोबाट वच्न पाखै पाखा घुमेर बल्ल मुलबाटोमा निस्कीए । पछि पनि मलाई त्यो ठाउँमा फट्याङग्रो छ कि भन्ने डर लागिरहन्थ्यो । म बाल्यकालमा गोता खाएको त्यो घटना कहिल्यै विर्सन्न ।
हम्मेसी म स्कुल जान मान्दैनथे । हजुरआमाले बेलुका तँलाई चाम्रे बनाएर राख्दिन्छु भन्नु हुन्थ्यो । म चाम्रे भनेपछि भुतुक्क हुन्थे । मुगिटार बाट ल्याएको सखर हालेर वनाएको चाम्रेको लोभमा म रुदैरुदै स्कुल लाग्थे । बेलुका हजुरआमाले कराईमा चाम्रे पकाएर राखिरहनु भएको हुन्थ्यो । हजुरआमा रामायण महाभारत पढ्नु हुन्थ्यो । स्वअध्ययनको बलमा । बा पुरोहित भएकाले घरमा हम्मेसी विहान बेलुका वस्न पाउनुहुदैनथ्यो । मलाई वहाँले घरमा कखरा सिकाउनु हुन्थ्यो । घरबाट भन्ज्यांग सम्म आउदा बाटोमा दुई तिन वटा ठुल्ठुला खोल्सा थिए । त्यो खोल्सामा पसेपछि कसैले नदेख्ने र आफुले कराएको कतै नसुन्ने खालका गहिरा खोल्सा । म त्याहा पसेपछि निसासिन्थे । त्याहाँबाट कतिबेर निस्कनु जस्तो लाग्थ्यो । कहिले काँहि त्याहा जंगली जनावर पनि भेटिन्थे । स्याल , मलसाप्रो आदि । मलाई खुव डर लाग्यो । भन्ज्यांगमा झर्नेबेलामा साना दुईवटा खोल्सी थिए ।
स्थानीयको पाइखाना त्यहि खोल्सा हुन्थे । बर्षामा नाक थुनेर हिड्दा साह्रै गाह्रो । चिप्लीएर त्यहि पाईखानामा परिएला भन्ने पिर । जिम्बलको घरमा बाहेक अरुको घरमा चर्पी थिएन । मन्थलीबेशींका ज्ञानप्रसाद र ईन्द्रप्रसाद घिमिरे दाईभाई जिम्बल थिए । ज्ञानप्रसादले खाँदवारी हुदै अहिलेको बजारको मुख्य सडक हुदै हालको नगरपालिका सम्मको जग्गामा सिंचाई गर्न कुलो खनाएका थिए । कुलो कति गहिरो थियो भने तल हे¥यो भने कहालीलाग्दो । एक बाँस जति गहिरो । साह्रै मुस्किलले खनेको थियो त्यो कुलो । बर्षायाममा वरिपरीको डिलबाट माटो झर्दा हालको देवकोटा चोक हुदै कुलोमा पसेर झरेको माटो निकालेको देखेको हुँ । त्यसबेला एकजनाले इनारमा बाल्टी झारेझै डोरी लगाएको करार्ईं तल झार्थे । कुलामा वसेकोले त्यो कराईमा माटो भरिदिएपछि माथिबाट तानेर बाहिर फाल्थे ।
एकदिन भन्ज्यांगका राजकुमार, ठाईला, रघु लगायतले मलाई त्यहि कुलोमा हाल्ने भनेर झम्टिए । म वेस्सरी रोएँ । ख्यै कसलाई मैले के भनें अहिले बिर्सें । रोएपछि ‘काठा’ भन्दै गाली गरेर छोडिदिए । भोलीपल्ट विहान स्कुल गएर भिनाजुलाई उनीहरुको विरुद्ध पोल लगाइदिएं । उनीहरुलाई भिनाजुले सवैको अघी आँगनमा बोलाएर गाली गरेपछि त्यसपछि मलाई उनिहरुले कहिल्यै गाली गरेनन् साथि भए । स्कुल जाँदा जिम्बलको घरको बाटो भएर जानु पर्दथ्यो । अरु बाटो थिएन । जिम्बलको घरमा घोडा पालेको हुन्थ्यो । हामी घोडा तवेला भन्दा केहि परकै बाटोमा हिड्दा कहिले काँहि घोडा हिल्हिल्याउथ्यो, त्यसबेला सातो पुत्लो जान्थ्यो ।
जिम्बलको घरमा मानिसहरुको सधैं भिडभाड जस्तै हुन्थ्यो । कोहि धान लिन आउने , कोहि गफ गर्न आउने, कोहि न्याय माग्न आउने अनि कोहि काम गरीदिन आउने । ठुलो माचमा पराल हुन्थ्यो । दुई चारजना जना गोठाला हुन्थे । दश बजे भन्दा अघी स्कुल पुग्दा हामी खेल्थ्यौं । त्यो बेला कबर्दी, ककफाईट, डुम र गुच्चा खेल्ने चलन थियो । डुम खेल्न अहिलेको महादेव मन्दिर वरिपरी झुम्मिन्थ्यौं । स्कुल भन्दा तल्लोपट्टीको ठुलो बरको बोटमा सैसला खेथ्यौं । बरको हाँगा लच्काउदै । पछारिएला भन्ने पिर लाग्थ्यो । कबर्दी र कक्फाईटमा म हम्मेसी भिडदैनथे । डर लाग्थ्यो । डुम र गुच्चा चाँहि खेल्थें । कबरर्दी र कक्फाईट स्कलुको आँगनमै हुन्थ्यो । गुच्चा खेल्न स्कुल भन्दा पश्चिम तिर खेतमा जान्थ्यौं । सरहरुले नदेख्ने भएकोले त्यतातिर धेरै ग्रुप गुच्चा खेलिरहेका हुन्थे ।
कक्षाको विचमा कोहि बाहिर निस्कीयो भने हेडसरले सातो टिप्थे । नारायणप्रसाद सुवेदी हेड सर हुनुहुथ्यो । वहाँले कराएपछि सबैजना थरथरी काम्दै कक्षा कोठामा दौडिन्थे । कुट्न चाँही वहाँ धेरै कुट््ने हैन । बरु मेरै भिनाजु डिल्ली सर संग सवै डराउथे । उहाँ पढाउन पनि ज्यादै राम्रो । कुट्नु परेपछि थला राख्ने । त्यस बेला अहिलेको जस्तो विद्यार्थीलाई तपाई हजुर भन्ने चलन थिएन । विद्यार्थीहरुले सरहरुलाई छड्के नजर लगाउन पनि सक्दैनथे । म पढाईमा तेजिलो थिईन । कहिल्यैं पहिलो दोश्रो र तेश्रो भईन । सामान्य पास हुन्थे । त्यसबेला राम्रो पढन सकेन भने पनि फेल भएन भने राम्रो भईएछ भन्ने लाग्थ्यो । दिउँसो १ बजेको छुट्टी हुदा सवै खेल तिर निस्कन्थे । ठुला कक्षाका दाईहरु भलिबल खेल्थे । म लगाएतका केहि लुरे हरु स्कुलको आँगनको डिलमा वस्थ्यौं । बाहिर आएको भलिबल छुन पाएपनि कस्तो हुन्थ्यो जस्तो लाग्थ्यो । डाडाँमा भएकाले भलिबल प्राय उफ्रिएर डिलबाट हाम्फालेर रणजोर खोला पुग्थ्यो । हामी खेतका कान्छा हाम्फाल्दै रणजोर खोला पुगेर बल टिपेर ल्याउथ्यौं । त्यस बेला कति हाम्फाल्यौं हेक्कानै छैन । रणजोरबाट बल ल्याएर खेल्न दियो, एकैछिनमा फेरी तल पुग्ने गरी हिर्काउथे । हामी फेरी लिन कान्ला हाम्फाथ्यौं ।
बर्षायाममा मन्थलीमा साह्रै गर्मी हुन्थ्यो । पश्चिम तिरको गैह्रीखेल नजिक तामाकोशीको भंगालो आउथ्यो । ठुलै हुन्थ्यो त्यो भंगालो पनि । धेरै विद्यार्थी पौडि खेल्न जान्थे । ठुला दाईहरु पारी जान्थे भंगालो तरेर । हामी छेउमा पानी चलाएर वस्थ्यौं । हात मुख धोयो, फर्कीयो । बाटोमा बिस्कुने कुला नजिक बरदन्तीको रुख थियो । त्यसको पाकेको गेडा खाने चलन थियो । हामी त्यो टिप्दै खान्थ्यौं । स्कुल नजिकै दुई वटा अमलाको रुख थिए । ति अमला यदि ठुला र रसिला थिए कि कुरै नगरौं । स्कुलले अमला झार्दा धानबारी स्वाहा पार्र्थे । हाम्रा गोजिभरी अमला हुन्थ्यो । अहिलेका विद्यार्थीको जस्तो स्कुलमा आउदा खाजा बोकेर आउने चलन थिएन । बा आमाले माया गरेर दिई हाल्नु भयो भने १÷२ रुपैयाँ दिनुहुथ्यो । त्यसले पिपलमेट किनेर खान्थ्यौं । भन्ज्यांगमा दुईवटा पसल थिए । पिपलबोटे साहु र गिरी सरको । हामीलाई पढाउनु पनि हुन्थ्यो ।
कक्षा ४ मा पुगेपछि एबीसिडी वहाँलेले पढाउनुहुन्थ्यो । हामी गिरीसरको पसलमा एक बजेको छुट्टीमा पिपलमेट किन्न आउथ्यौं । भित्र तोरीको गेडावाला पिपलमेट खुब चलेको थियो । धेरै पैसा हुनेले सुन्तला चकलेट खान्थे । हाम्रो कक्षामा रामेश्वर पनि थियो । खड्पुले साहुको छोरा । हामी त्यसलाई फकाएथ्यौं । त्यो घरबाट खुसुक्क एबीसी लेखेको खाजा विस्कुट ल्याउथ्यो । कहिले काँहि हामी ज्वानो र नुन मिसिएको सानो खाजा (काजु जस्तो सानो हुन्थ्यो ) विस्कुट किन्थ्यौं । स्कुलबाट छुट्ने बेला भोकले लखतराई भईएको हुन्थ्यो । चाडो चाडो घर पुग्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । तर बाटोमा पुगेपछि भोक विर्सने । कहिले हुतुतु त कहिले गेम ।
अलि ठुलो भएपछि टेकनपुर तिर जानेहरु मेरा साथि बने । हिउँदको बेला बाटोको दायाँबायाँ सानो धंगेरो रातै फुलेको हुन्थ्यो । हामी त्यहि धंगेरोको फुलभित्रको रस चुस्दै वस्दा सांझ पर्दथ्यो । धंगेराको फुलमा कमिला वस्थे । त्यो कमिलाले टोकेर सुन्नीएको ओठ पसारेर घर पुथ्यौं । गुलियो च्याटच्याट लाग्ने धँगेराको रसले कमिज विग्रीएको हुन्थ्यो , राघे र पाटे । घरमा कराउनु हुन्थ्यो । कहिले मोजाको भकुण्डो वनाएर बाटैमा गेम खेलेर वस्थ्यौं । चाडो घरमा पुग्यो भने पनि गाउँका साथि संगी भेला भएर त्यहि गेमनै खेल्ने हो । म सानै हुदाँ केराबारे चौर ( हालको विमानस्थलमा ) मा प्लेन आउथ्यो । ७ सिटे । विदेशी पाईलट थिए । प्लेन कराएपछि हामी त्यतै दौडन्थ्यौं । तारबार थिएन । प्लेनका पाईलट प्राय विदेशी हुन्थे । त्यसबेला तामाकोशीमा असाध्ये माछा पाउने । प्लेन राखेर उनि माछा मार्न जान्थे । कोशीको छेउमा लहरै आउने भुरा माछालाई उनि ढुंगाले हिर्काउथे । के मथ्र्यो माछा ! उनि फर्कन्थे । प्लेनमा चढ्थे । हामी त्यसको पछिको टिन बजाउथ्यो । त्यसबेला प्रहरी थिएनन । रत्नाकर चौधरी भन्ने हाकीम गाली गर्थे , हामी टेर्दैनथ्यौं । जव प्लेन स्टार्ट हुन्थ्यो केहि पर भाग्थ्यौं । त्यसले फाल्ने ईन्धनको गन्ध र हावा सुंगेर वस्थ्यौं ।
हामीलाई धुलैधुलो वनाएर उ आकासिन्थ्यो । पछि एयरपोर्ट ठुलो पार्नका लागि नबराज सुवेदीले हालको नागकन्या स्कुल भएको स्थानमा अस्थाई टहरा हालेर जिल्लाबासीलाई श्रमदान गराउन थाले । हाम्रो स्कुलेले पनि त्यसमा श्रम ग¥यौं । साना बेदका ढकीमा माटो बोकेर विमानस्थलको खाडलमा पु¥याउथ्यौं । धेरै दिन उर्दी लाग्यो त्यसबेला ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको