प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा नेपाली कांग्रेसले ८ लाख समानुपातिक मत पाएको छ। आज बिहान ६:५३ बजेसम्मको विवरणअनुसार दोस्रो स्थानमा रहेको कांग्रेसले ८ लाख ७१ हजार ६ सय ९० पुगेको हो।
यसैगरी पहिलो स्थानमा रहेको एमालेले ९ लाख ६१ हजार २ समानुपातिक मत ल्याएको छ।
निर्वाचन आयोगको अध्यावधिक तथ्यांकअनुसार तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ३८ हजार १ सय १६ मत ल्याएको छ भने चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म ४ लाख ६० हजार ५२ समानुपातिक मत प्राप्त गरेको छ।
समानुपातिक मतमा राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं स्थानमा छ। उसले अहिलेसम्म २ लाख ३६ हजार २ सय ११ मत ल्याएको छ।
छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले १ लाख १४ हजार ५ सय १९ समानुपातिक मत पाएको छ भने सातौं स्थानमा रहेको जनमत पार्टीले ६८ हजार ५ सय ७८ समानुपातिक मत ल्याएको छ। यसपछि आठौं स्थानमा रहेर नेकपा एकीकृत समाजवादीले ६२ हजार ९ सय ११ मत पाएको छ भने नवौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले ६१ हजार ७ सय ६० मत ल्याएको छ।
दसौँ स्थानमा रहेर नेपाल मजदुर किसान पार्टीले ५६ हजार २ सय १४ समानुपातिक मत पाएको छ भने एघारौं स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार ५ सय ८ समानुपातिक मत ल्याएको छ।
मतगणनाको ट्रेन्ड हेर्दा जसपाले समानुपातिक सिट बाँडफाँटका लागि आवश्यक ३ प्रतिशत थ्रेसहोल्ड कटाउने देखिन्छ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउने दलहरूले प्राप्त गरेको मतका आधारमा ११० सिट बाँडफाँट हुनेछ। मतपरिणामको जारी ट्रेन्ड कायम रहे एमालेले ३५, कांग्रेसले ३४, स्वतन्त्र पार्टीले १७, माओवादी केन्द्रले १६, राप्रपाले ९ र जसपाले ४ सिट प्राप्त गर्ने देखिन्छ।
तर अझै झन्डै ७० लाख मत गन्न बाँकी रहेकाले सिट बाँडफाँटबारे निर्क्यौल गर्न सकिँदैन।
