जनक कार्की
रसुवा- रसुवा जिल्लाको उत्तरगया गाउँपालिका – २ र ३ मा पर्ने डाँडागाउँमा रहेको मैलुङ्ग झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
दुई वर्ष अघिसम्म भाङ्गे झरनाको नामले चिनिएपनि पछिल्लो समयमा मैलुङ्ग झरनाको नामले सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त झरना हेर्न र रमाउन आउनेको भीड लागेको हो । झट्ट तलबाट माथि हेर्दा बाहुबली फिल्ममा देखाइने झरना जस्तै भएकाले यस झरनालाई बाहुबली झरना पनि भनिन्छ ।

काठमाडौँदेखि करिब ७० किलोमिटर अर्थात करिब ३ घण्टा बाइकमा पुग्न सकिन्छ । सामाजिक सञ्जालमा भाइरल बनेपछि अन्य दिनहरुमा भन्दा शनिवार अत्याधिक भिड हुने गरेको स्थानीयहरु बताउँछन् ।
झरना हेर्न छिमेकी जिल्ला नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, चितवन, गोर्खा, मकवानपुर लगायतबाट पनि आउने गरेका छन। झरना हेर्न पुग्ने धेरैजसो युवायुवतीहरु पौडी खेल्ने, झरनामा नुहाउने, टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाउने गर्छन् ।
मैलुङ्ग झरना जति सुन्दर छ त्यो अनुसार बस्न खान होटल, कटेज, होमस्टेको अभाव रहेको छ।




