मनसुन लम्बिँदा असोजमा पनि झरी, कहिलेबाट हुन्छ सुधार ?

नेपालमा सामान्यत: अक्टोबर २ तारिखसम्म मनसुन बाहिरिई सक्छ। यसपालिको अक्टोबर २ अर्थात् असोज १५ गतेपछि पनि मनसुनी प्रणाली विस्थापित भएन। झन् सक्रिय भएर आयो।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दुई दिनअघि नै तीन दिनसम्म लगातार झरी पर्ने प्रक्षेपण गर्दै बालीनाली नकाट्न भन्यो। काटिसकेको भए नभिज्ने ठाउँमा राख्न र भित्र्याउन सूचित गर्‍यो।

मनसुन बाहिरिने सरदर मिति कटिसक्दा पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा लगातार झरी परिरहेको छ। ‍काठमाडौंमा मंगलबार रातिदेखि नै लगातार पानी परिरहेको छ भने पाल्पामा हिजो भारी वर्षा मापन भयो। पाल्पाको कमलगाउँमा पछिल्लो २४ घन्टामा १४२.२ मिलिमिटर वर्षा भएको छ। पाल्पाको गन्डाकोटमा १६२.६, पाल्पाकै अर्चलेमा २०७.४, तनहुँको अत्रौलीटारमा १४६.८ र चितवनको देवघाट क्षेत्रमा १४६.६ मिलिमिटर वर्षा मापन भएको छ।

पछिल्लो २४ घन्टामा लमजुङ, गोरखा, ललितपुरका लेले, गोदावरीलगायत क्षेत्रमा भारी (५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्म) र अति भारी (१०० मिलिमिटरदेखि २०० मिलिमिटरसम्म) वर्षा भएको छ।

मनसुन बाहिरिने बेलामा बाढी, पहिरोको प्रकोप निम्तने गरी असोजे झरी लागेपछि हामीले वरिष्ठ मौसमविद् वरूण पोखरेललाई सोधेका छौं।

उनले आजै रातिबाट मनसुनमा सुधार आउने बताए। आज रातिसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनीसम्म सुधार देखिने र भोलिबाट गण्डकी, बागमती, मधेस हुँदै मौसम खुल्दै जाने उनले बताए।

हाल मनसुनको न्यून चापीय रेखा (जसलाई हामी मौसमको प्रणाली पनि भन्छौं) सरदर स्थानमा अवस्थित रहेको महाशाखाले बताएको छ। यसका अतिरिक्त नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। भारतको सिक्किमलगायत राज्यमा यसैका कारण भारी वर्षा भइरहेको छ।

यो प्रणालीको प्रभाव नेपालमा पनि परेर देशभर झरी परेको हो। ‘आजै रातिबाट मनसुनमा सुधार आउँछ। पश्चिमबाट क्रमशः खुल्दै आएको छ। बागमती हुँदै पूर्व लाग्छ। यो हप्ताभित्र मनसुन बाहिरिने अनुमान गर्न सकिन्छ। यद्यपि हामी अध्ययन गरेर बुलेटिन निकाल्छौं,’ वरिष्ठ मौसमविद् पोखरेलले भने।

बिहीबार गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको रहेको महाशाखाले बताएको छ।

बिहीबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यत: मौसम सफा रहने प्रक्षेपण गरिएको छ। त्यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको देखाइएको छ।

शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बाँकी प्रदेशमा आंशिक बदली रहने बताइएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् बताएको छ।

शुक्रबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने अनुमान छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ।

वरिष्ठ मौसमविद् पोखरेलले यो साता धानलगायत बाली नकाट्न आग्रह गरे। ‘एक-दुई दिन मनसुनी प्रणाली देखिने हुँदा यो साता बाली काट्नु उपयुक्त देखिँदैन। अर्को साताबाट मनसुन बाहिरिने भएकाले बालीनाली काट्न सुरू गर्दा हुन्छ,’ उनले भने।

उनका अनुसार भारतको उत्तराखण्ड, गुजरात, राजस्थान लगायत ठाउँबाट मनसुन बाहिरिन सुरू गरिसकेको छ। सामान्यतः पश्चिमी वायुले पूर्वी (मनसुनी) वायुलाई धकेल्दै लैजान थालेपछि मनसुन बाहिरिने क्रम सुरू हुन्छ।

‘मनसुन निष्क्रिय हुन पश्चिमी वायुले पूर्वी वायुलाई धकेल्नु पर्छ वा कमजोर बनाउनुपर्छ। तत्काल त्यो अवस्था देखिएको छैन,’ उनले भने।

नेपालमा मनसुनी वायु अरबियन सागरबाट बंगालको खाडी हुँदै पूर्वबाट प्रवेश गर्छ। यस वर्ष गत जुन १३ (जेठ ३२) मा मनसुनी प्रणाली नेपाल भित्रिएको थियो ‍भने नेपालभर फैलन एक साता लागेको थियो।

सिफारिस

४ महिला नेतृत्वको फोटो राख्दै ओलीले लेखे– मलाई पनि खुसी लागेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले महिला नेतृत्वसम्बन्धी चार संयोगहरुले आफूलाई खुसी लागेको बताएका छन् । ओली प्रधानमन्त्री भएको विभिन्न कालखण्डमा महिला विभिन्न उच्च ओहोदामा पुगेका छन्। जसअनुसार...

रिटिङ रिटिङ नबजाउ बिनायो बोलको चर्चित गीतका गायक जोशीको निधन

काठमाडौं – ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ बोलको लोकप्रिय लोक गीतका गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। बिहीबार ८८ वर्षीया...

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, हेर्नुहोस् यस्तो छ ३ दिनको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास क्षेत्रमा अवस्थित छ। यतिबेला (शुक्रबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रिटिङ रिटिङ नबजाउ बिनायो बोलको चर्चित गीतका गायक जोशीको निधन

काठमाडौं – ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो...

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, हेर्नुहोस् यस्तो छ ३ दिनको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून...

रामेछापमा पहिरोमा पुरिएर एकै घरका तीन किशोरीको मृत्यु

रामेछापको गोकुलगंगामा पहिरोमा पुरिएर एकै घरका तीनजना किशोरीको मृत्यु...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएका...

गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौं– सरकारले कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त...

जहाज दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं - सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा...

धेरै पढिएको