‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई पाटनको तःबहाल मन्दिर ल्याइएको छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटन ६ महिना बुङ्मती राखिने चलनअनुसार बुधबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर ल्याइएको हो ।
हरेक वर्ष पाटनबाट सुरु हुने मत्स्येन्द्रनाथको जात्रा बुङ्मती पुगेर सकिन्छ । त्यसपछि फेरि बुङ्मतीबाट पाटन ल्याउने चलन रहेको छ । बुङ्मतीको मुख्य बाटोबाट नै देवतालाई खटमा बोकेर पाटन ल्याइन्छ । हरेक बाह्र वर्षमा हुने जात्रामा भने पुरानो बाटो (जुन बाटो अहिले चलनचल्तीमा छैन) बाटै ल्याउने गरिएको छ । पानेजु सङ्घको नियम अनुसार नै पानेजुहरूले मन्दिरमा पालो बस्ने, देवता बोक्नेलगायतका काम पालो गर्छन् ।
रातो मत्स्येन्द्रनाथको जात्राका लागि दुई पटक साइत हेरिन्छ । पहिलो पटक बुङ्मतीमा रहेका देवता पाटनमा ल्याउनका लागि र दोस्रो पटक रातो थट्टिटोलमा रहेका देवतालाई जावलाखेल लैजान साइत हेरिन्छ ।
बर्सेनि आउने जात्राले पाटनवासीमा हर्ष मात्रै ल्याउँदैन एकताको भावनासमेत ल्याउने गरेको छ । जात्राका अवधिमा विभिन्न जातले गर्ने फरक फरक काम तोकिएको छ । एउटा जातको सहयोग नभई जात्राको तयारी पूरा नहुने भएकाले पनि रातो मत्स्येन्द्रनाथको जात्रा सिङ्गो पाटनवासीलाई जोड्ने जात्रासमेत बन्दै गएको छ ।
करिब १६ सय वर्षअघि सुरु भएको मत्स्येन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ । नेवारी परम्परा अनुसार ३२ हात अग्लो रथ बाजागाजाका साथ ललितपुरका विभिन्न टोलमा परिक्रमा गराउने परम्परा छ । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुवात गराएको पौराणिक कथन छ । हिन्दु धर्मावलम्बी मत्स्येन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयका रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्ने गर्छन् ।