सिन्धुली- जिल्लाका स्थानीय सरकार हरुलाई विश्व महाव्याधीको रुपमा फैलिएको कोरोना भाइरससँग लड्न विभिन्न गैरसरकारी संस्था, स्थानीय क्लब र विभिन्न क्षेत्र र पेशा सँग आबद्ध संस्थाहरुले सहयोग मार्फत साथ दिइरहेका छन्। नेपाल क्योकुशिन कराँते संघ सिन्धुलीले पनि सिन्धुली जिल्लाको दुधौली नगरपालिकालाई मास्क र पिपिई सेट उपलब्ध गराएर सहयोग गरेको छ।
क्योकुशिन सिन्धुलीका अध्यक्ष रितेश विकका अनुसार यो साझा संकटमा स्थानीय सरकारलाई थोरै सहयोग गर्ने अवसर पाएकोमा आफ्नो संस्थालाई गौरव महसुस भएको बताएका छन्। अध्यक्ष रितेश विक भन्छन्, ‘हामीले दुधौली नगरपालिका प्रमुख घनश्याम राउतलाई ५ सेट पिपिई र ४५० थान सर्जिकल मास्क सहयोग हस्तान्तरण गरेका हौं।
संख्याका हिसाबले हामीले दिएको संख्या धेरै होइन तर यो संकटमा देखिएको अभावमा यसले ठूलो राहत दिन्छ भन्ने हाम्रो बुझाई हो।’ ऊनी भन्छन्, ‘हाम्रा कारणले मानवाजाती विरुद्ध नै आक्रमण गरिरहेको कोरोना भाइरसलाई परास्त गर्न युवा वर्ग र अन्य संस्थामा सकारात्मक सामाजिक भावनाको विकास गराउने र त्यो भावना स्थानीय सरकारलाई एउटा सशक्त सहयोगको आधार हुने अपेक्षा समेत हो।’ नेपाल क्याकुशिन कराँते सिन्धुलीले अन्य समयमा समेत जिल्लामा कराँतेका खेलहरु आयोजना गर्दै आइरहेको छ।
नेपाल क्याकुशिन कराँते सिन्धुलीका अध्यक्ष रितेश विक, उपाध्यक्ष विजय कार्की, सचिव राजेश चौधरी र सदस्य मनोज श्रेष्ठले संयुक्त रुपमा दुधौली नगरपालिकालाई पिपिई र मास्क हस्तान्तरण गरेका थिए। सदस्य मनोज श्रेष्ठ भन्छन्, ‘युवालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु र युवामा तातो रगत मात्र हुँदैन , सचेतनाको आगो पनि हुन्छ भन्ने पुष्टि गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउँछन्।’ श्रेष्ठ भन्छन्, ‘हाम्रो जिम्मेवारी भोट हालेर सरकार बनाउने मात्र होइन, विपत्ति,भोकमरी र महामारीका कारण सरकारलाई संकट पर्दा त्यसको समाधान गर्न सहयोगी भुमिका पनि खेल्ने हो र यो सहयोग त्यसैको प्रतिबिम्ब हो।’
