तेह्रथुम – गुराँसको राजधानी भनेर चिनिने तेह्रथुमको तीनजुरेका डाँडाहरू यतिबेला लालीगुराँसले ढकमक्क धाकिएका छन् । डाँडाकाँडा गुराँस फुलेर राताम्मे भएपछि घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ ।

तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस फुल्ने गर्दछ । तीन जुरेमा विश्वमा पाइने ३२ प्रजातिमध्ये २८ प्रजातिका गुराँस पाइन्छ । पाथीभरा, चौकी, मङ्गलबारे, गुफापोखरी हुँदै तीनजुरे–मिल्क–जलजले क्षेत्रमा गुराँसको जङ्गल छ । तीनजुरे क्षेत्रमा लालीगुराँस, सुनपाती, रातो चिमाल, चियाफूले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन् ।

यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छ । यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङजस्ता प्रजाति पनि छन् । यस्तै हुकरको गुराँस, पहेँलो सुनपाती, भुत्ले गुराँस, भाले सुनपाती, सानो लहरे चिमाल, हिउँ गुराँस, झुण्डिने चिमाल, पुड्के गुराँस, बुलु, शाल्लु गुराँस, थाम्सनको गुराँस, रोडोडेन्ड्रोन ट्राइकोक्लाडुम, पहेँलो गुराँस, खियाउने पाते गुराँस, हाँगिने गुराँस, बालिकको गुराँस, वाइटको गुराँस प्रजातिका गुराँस तीनजुरे क्षेत्रमा पाइन्छ ।

फूल टिप्दा हाँगा भाँचिने, गुराँसको बोट सुक्ने र यसको सौन्दर्य समेत गुम्ने भएकाले फूल टिप्न रोक लगाइएको छ । गुराँस हेर्न मात्र पाइने तर टिप्न नपाइने नियम लागू गरेपछि यस क्षेत्रको गुराँस वन संरक्षणमा सहयोग पुग्ने स्थानियहरूको भनाइ छ।

