काठमाडौँ — विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरमा ६२ वर्षपछि रंगरोगन गरिएको छ । मन्दिरमा रंगरोगन पछि चिटिक्क देखिएको छ । यसअघि २०१८ सालमा राजा महेन्द्रको पालामा चाँगुनारायण मन्दिरको रंगरोगन गरिएको थियो
त्यो बेला (२०१८ साल) मा लगाइएको रंग अझै छ तर पटक–पटकको मन्दिर मर्मत तथा जीर्णोद्धार, परेवाले गर्ने फोहोर, घामपानीका कारण मेटिँदै गएको छ।
मन्दिरको चारैतिर विभिन्न देवीदेवताका कलात्मक काष्ठकलाका मूर्तिहरु छन् । मन्दिरमा काठ, इँटा र प्रस्तर (ढुंगा) र धातुको प्रयोग गरी बनाइएको छ ।
मौलिक प्यागोडा शैलीमा निर्मित चाँगुनारायण मन्दिर मध्यकालमा राजाशिव सिंहकी रानी गंगारानी र १८ औं शताब्दीको सुरुमा कान्तिपुरका भाष्कर मल्लको शासनकालमा जीर्णोद्धार भएको थियो । त्यस्तै, २०६६ सालमा गाहरो र छाना मर्मत भएको चाँगुनारायण मन्दिर २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भइ जीर्णोद्धार भइसकेको छ । भूकम्पको कारण क्षतिग्रस्त मन्दिर परिसरको चौघेरा सत्तल पुनर्निर्माणको काम भइरहेको छ ।
उपत्यकाकै प्राचिन मन्दिरमा सबैभन्दा पुरानो मानिने चाँगुनारायण मन्दिरलाई सन् १९६९ मायुनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो ।