काठमाडौँ – दुई दिनअघि झापा जिल्ला कचनकबल गाउँपालिका–४ खुट्टामनीबाट पनि भारतीयहरू नेपाल प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसँग विवाद भएको थियो । घटनाका विषयमा मंगलबार बिहान दुवै देशका सुरक्षा कमान्डरबीच छलफल भएको छ । घटनास्थल रहेको दशगजामा बिहार राज्यको किसनगन्जस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) १२ बटालियनका कमान्डर सुवास नेङ्की, धनतला ग्राम पञ्चायतका मुखिया र नेपालका तर्फबाट सशस्त्रका एसपी रमेशकुमार थक्सु, गाउँपालिकाका अध्यक्ष जयनारायण साह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीलगायतको टोलीबीच छलफल भएको हो । छलफलमा भारतीय पक्षले आफ्ना नागरिकबाट गल्ती भएको स्वीकारेको गाउँपालिका अध्यक्ष साहले बताए ।
नेपाली सुरक्षाकर्मीले मानवीय क्षति नहुने गरी हवाई फायर मात्र गरेको भन्दै एसएसबी कमान्डरले धन्यवाद व्यक्त गरेको उनको भनाइ थियो । उनका अनुसार भारतीय पक्षले आगामी दिनमा यस किसिमको गल्ती हुन नदिने प्रतिबद्धता जनाएका छन्
सीमावर्ती क्षेत्रमा गरेको खेती हेर्न जान लागेको भन्दै १५ जनाको संख्यामा आएका भारतीयहरू जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेका थिए । १२० नम्बर पिलर छेउमा चार जना मात्र प्रहरी खटिएको देखेपछि उनीहरूले जबर्जस्ती गरेका थिए । तर तत्कालै नजिकैको क्याम्पबाट थप प्रहरी आएपछि उनीहरू भारततर्फ भागेका थिए ।
