ललितपुरको जावलाखेल खेल मैदानमा बिहीबारदेखि तिहारलक्षित पुष्प मेला सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले ‘१७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१’ नामक पुष्प मेला आयोजना गरेको हो ।
फ्लोरिकल्चर एसाेसिएसन नेपाल (फ्यान)को आयोजनामा गोदावरी फूलको व्यावसायिक विस्तार तथा विकास गर्ने उद्देश्यले पुष्प प्रदर्शनी गरिँदै आएको छ ।
मेलाले गोदावरीलगायत विभिन्न फूलको व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनमा सघाउ पुर्याउने एसाेसिएसनले जनाएको छ।
प्रदर्शनीमा कुल ७५ वटा स्टल छन् । जसमध्ये व्यावसायिक प्रदर्शनीका ६८ वटा, अफिसियल ४ वटा, प्रतिस्पर्धात्मक स्टल २ वटा र सेल्फी खिच्नको लागि १ वटा स्टल रहेको आयोजकले जनाएको छ ।