काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक भएको छ। “तिमीलाई लान्छु म गाउमा फूलको डोलिमा” बोलको यो गीत संगीतप्रेमीबीच निकै बहुप्रतिक्षित मानिएको थियो।
गीतमा शब्द रचना देवेन्द्र केसीको रहेको छ भने संगीत विकास चौधरीले भरेका छन्। आधुनिक शैलीमा प्रस्तुत गरिएको गीतले प्रेम, प्रकृति र नेपाली संस्कृतिको मिठास समेटेको छ।
४ दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहेका गुरुङले पहिलो गीत “मेरा रातहरू मलाई जिस्काउँछन्” १७ वर्षको उमेरमा रेकर्ड गराएका थिए। त्यसयता उनले पछाडि फर्कनु परेन। दर्जनौं लोकप्रिय गीतमा स्वर दिइसकेका गुरुङले दुई दर्जनभन्दा बढी आधुनिक गीत सार्वजनिक गरिसकेका छन् भने केही लोकफ्लेवरका गीत पनि सार्वजनिक गर्ने तयारीमा छन्।
ललितपुर सानेपामा जन्मिएका गुरुङले रेडियो नेपालबाट स्वर परीक्षा पनि उत्तीर्ण गरेका छन्। उनका दुई एल्बम “सन्ध्या” र “रंग” सार्वजनिक भइसकेका छन्। साथै, उनी भजन, पार्श्वगायन र चलचित्र संगीतमा पनि सक्रिय छन्।
“माझी दाइ”, “आज किन संगै”, “आकाश भरी”, “जुन पनि दिउँला तिमीलाई”, “किन हो साँझ” जस्ता थुप्रै गीतले उनलाई नेपाली संगीत प्रेमीको मनमा विशेष स्थान दिलाएको छ।