काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘म्याङ्गो राइड’ शुक्रबारदेखि सुरु भएको छ। ललितपुरको जाउलाखेलबाट सुरु भएको राइडको उद्घाटन नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले गरेका हुन्।
‘द हिमालयन मोटरसाइकल एक्सपेरियन्स’को आयोजनामा सुरु भएको यो राइडमा ८० भन्दा बढी रोयल इन्फिल्ड मोटरसाइकल राइडर सहभागी छन्। सहभागीहरूमध्ये डाइरेक्टर अमनप्रताप सिंह, कलाकार कर्मा र अन्य प्रोफेसनल राइडरसमेत छन्। कार्यक्रम हन्ड्रेड्स ग्रुप र लक्ष्मी सनराइज बैंकको सहआयोजनाको रुपमा रहेको छ।
तीन दिनसम्म सञ्चालन हुने राइडको पहिलो दिनको यात्रा जाउलाखेलबाट कुलेखानी, हेटौँडा हुँदै बर्दिबाससम्म हुनेछ। दोस्रो दिन बर्दिबासको म्याङ्गो फार्म अवलोकन गरिनेछ भने त्यसपछि गाईघाट, भिमान हुँदै पुनः बर्दिबास फिर्ता हुनेछ। तेस्रो तथा अन्तिम दिन बर्दिबासबाट हेटौँडा हुँदै टीकाभैरवमा समापन गरिनेछ।
राइडमार्फत नेपालमै उत्पादन हुने अर्ग्यानिक आँपको महत्वबारे जनचेतना फैलाउने र कृषकलाई सशक्त बनाउन सहयोग पुर्याउने लक्ष्य राखिएको आयोजक पक्षले जनाएको छ।