राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका अध्यक्ष प्रदीपराज वन्तले हालै चीनको सान्दोङ प्रान्तमा सम्पन्न अन्तर्राष्ट्रिय फोटो महोत्सव “अवसर चीन, ऊर्जाशील सान्दोङ” मा सहभागिता जनाएर फर्किएका छन्। सन् २०२५ अक्टोबर १५ देखि २१ तारिखसम्म चलेको उक्त महोत्सवमा नेपालसहित जापान, भियतनाम, मलेसिया, कोरिया, म्यानमार, थाइल्याण्ड, रसिया र फिजीका करिब १०० भन्दा बढी फोटो पत्रकार र फोटोग्राफरहरूले सहभागिता जनाएका थिए।
उक्त कार्यक्रम चीनको सान्दोङ प्रान्तीय समितिको प्रचार विभाग र अन्तर्राष्ट्रिय फोटोग्राफिक आर्ट महासंघ (चीन कार्यालय, जिनान) को संयुक्त आयोजनामा सम्पन्न भएको थियो। सहभागीहरूलाई तीन समूहमा विभाजन गरी सान्दोङका ऐतिहासिक, सांस्कृतिक तथा औद्योगिक क्षेत्रहरूको भ्रमण गराइएको थियो।
फोटो पत्रकार वन्तको समूहले विन्झाओ सिटीमा अवस्थित किसान नेताको स्मारक संग्रहालय, एल्लो रिभर टावर, पार्क, विश्वप्रसिद्ध कपडा उद्योग तथा विशाल कार्पेट संग्रहालयको अवलोकनका साथै तस्बिर खिच्ने अवसर पाएका थिए। साथै, स्थानीय किसानद्वारा सञ्चालित जुजु फलफूल बगैचाको भ्रमणमा आफ्नै हातले फल टिप्ने, खाने र झोला भर्ने रमाइलो क्षण पनि साझा गरिएको थियो।
यसै क्रममा चीनको ग्रामीण जीवन नजिकबाट बुझ्ने अवसर पाएका वन्तले उडी फिल्म सिटीमा आयोजित कला, संस्कृति र नृत्य प्रदर्शनको अवलोकन गर्दै मनोरञ्जनसमेत लिएका थिए। सहभागीहरूले तेल उत्खनन् उद्योगमा प्रयोग हुने मेसिन, विद्यालयका विद्यार्थीहरूको चिनियाँ ओपेरा प्रस्तुति र एल्लो रिभर क्षेत्रका संरक्षित चराहरू पनि अवलोकन गरेका थिए।
अध्यक्ष वन्तले यस्ता अन्तर्राष्ट्रिय फोटो महोत्सवहरूले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ गर्ने, पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने र नेपाली फोटो पत्रकारिताको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अवसर मिलेको बताए।

