काभ्रे – संयुक्त राष्ट्र संघको ८० औं स्थापना दिवस (UN Day-2025) आज श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ।
नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रक्षा सचिव, बलाधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, मित्रराष्ट्रका सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू सहित नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाका सैनिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपालले संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९५८ देखि शान्ति सैनिक पठाउँदै आएको छ। हाल नेपालको योगदानका कारण नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा रहेको छ। त्यस्तै, महिला सैनिक खटाउने राष्ट्रहरूमध्ये पनि नेपाल अग्रस्थानमा रहेको उल्लेख गरिएको छ।
संयुक्त राष्ट्र संघीय मिसन अन्तर्गत हाल विश्वका विभिन्न १० वटा मिसनहरूमा नेपाली सेनाका ५,८१९ जना शान्ति सैनिक कार्यरत रहेका छन्। विश्व शान्ति स्थापनाको क्रममा हालसम्म नेपाली सेनाका ७४ जना सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने ७५ जना सैनिक घाइते भएका छन्।

