काठमाडौँ – यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी (बैकुण्ठ चतुर्दशी)को रात श्री सुन्दरी महाँलक्ष्मी माईको महाँस्नान पूजा सम्पन्न भएपछि सुरु हुने यो नाच यस वर्ष पनि परम्परागत विधिअनुसार मनाइएको हो।
नेपाल सम्बत् ५९४ देखि निरन्तर देखाइँदै आएको फम्पि (फर्पिङ)को यो ऐतिहासिक कार्तिक नाचमा यसपटक भगवान विष्णुको पाँचौं अवतार वामन अवतार (बली राजा) सम्बन्धी पौराणिक कथा प्रस्तुत गरिएको थियो।
धार्मिक कथा, परम्परागत वेशभूषा र स्थानीय कलाकारहरूको अभिनयले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। यस नाचमा देवताका रूपधारण गरेर गरिने नृत्य, पुराना ताल–वाद्यको उपयोग, र स्थानीय समुदायको उत्साही सहभागिताले फर्पिङलाई साँच्चिकै जीवित संस्कृतिको केन्द्रका रूपमा पुनः उजागर गरेको छ।
कार्तिक नाच केवल धार्मिक कार्यक्रम मात्र नभई सांस्कृतिक पुनर्जागरण र आस्थाको प्रतीकका रूपमा हरेक वर्ष आयोजना गरिन्छ, जसले नयाँ पुस्तामा परम्पराको सम्मान र पहिचान जागृत गर्ने उद्देश्य राखेको छ।
तस्वीरहरू: सुजन श्रेष्ठ/अन्नपूर्ण टाइम्स

