काठमाडौँ – कालु पाण्डे डाँडा, चन्द्रागिरि नगरपालिका–१ मा अवस्थित काठमाडौं उपत्यकासहित वरपरका पहाडी भू–भागको विहङ्गम दृश्य अवलोकन गर्न सकिने एक शान्त, सौन्दर्यले भरिपूर्ण स्थल हो ।
प्राकृतिक छटाले भरिएको यो पहाडी स्टेसन पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । डाँडाबाट काठमाडौं उपत्यकासंगै लाङटाङ र गणेशलगायतका हिमश्रृंखलाहरूको अनुपम दृश्य नजिकबाट नियाल्न सकिन्छ ।
शहरको भीडभाड र कोलाहलबाट टाढा, यो डाँडा यात्रुका लागि मनमोहक दृश्यको आनन्द मात्र होइन, मानसिक शान्ति खोज्ने स्थलका रूपमा पनि स्थापित भएको छ ।

