डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या भोगिरहेका पाँच जना नेपाल प्रहरीलाई नेपाली सेनाले हवाई उद्धार गरेको छ।
इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला प्रहरी कार्यालय डोल्पा स्थानान्तरणका क्रममा बाटोमै ती प्रहरीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनीहरू प्रहरी चौकी ‘धो’ मा रोकिएका थिए। लगातारको हिमपात र चिसोका कारण अवस्था झनै बिग्रिएपछि तत्काल उद्धारका लागि नेपाली सेनासँग आग्रह गरिएको थियो।
उद्धारका लागि सेनाको हेलिकोप्टरबाट आज दुई चरणमा धो पुगेको थियो। नेपाली सेनाको टोलीले पाँचै जनालाई उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
उनीहरूको स्वास्थ्य अवस्थाबारे अस्पतालले आवश्यक जाँच–उपचार सुरू गरेको र अवस्था स्थिर रहेको बताइएको छ।
