काठमाडौं — नेपाल सरकार र दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबीच आज शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा वार्ता सम्पन्न भएको छ। वार्तामा महाभियानले अघि सारेका २७ बुँदे मागका विषयमा विस्तृत छलफल गरिएको हो।
वार्ताको दौरान वर्तमान शान्ति–सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै महाभियानले उठाएका मुद्दाहरूको समाधानका लागि सरकार निरन्तर संवाद, वार्ता र सहजीकरण प्रक्रिया अघि बढाउँदै जाने सहमति भएको छ।
महाभियानले २०७९ मंसिर ७ गतेदेखि घोषणा गरेको नेपाल बन्द तथा अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता लिने निर्णय गरेको छ।
वार्तामा महाभियानतर्फबाट सचिव प्रेमदीप लिम्बुको नेतृत्वमा अधिवक्ता विनोदमणि भट्टराई, अधिवक्ता लवण न्यौपाने र डा. निराजन प्रसाई सहभागी थिए। सरकारतर्फ गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिना उपस्थित थिए।
वार्ता प्रधानमन्त्रीको निवासमै सम्पन्न भएको हो। दुवै पक्षले महाभियानको उच्च नेतृत्वसहितको अर्को चरणको वार्ता चाँडै आयोजित गर्ने समझदारी गरेका छन्।

