काठमाडौं — नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।
उपरथी दर्जामा पदोन्नति हुनुभएका पाइलट सहायक रथी राम सुन्दर बोहोरा, सहायक रथी भुवन खत्री तथा प्राविधिक सहायक रथी धर्मेन्द्र कुमार झालाई आज जंगी अड्डामा आयोजित विशेष समारोहबीच प्रधान सेनापति महारथी सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो।

सोही कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नति हुनुभएका एक जना महासेनानी तथा महासेनानी दर्जामा पदोन्नति हुनुभएका पाँच जना प्रमुख सेनानीहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो।

दर्ज्यानी चिन्ह प्रदान समारोहमा बलाध्यक्ष, रथीवृन्द, वरिष्ठ तथा कनिष्ठ अधिकृतहरू, साथै पदोन्नति हुनुभएका रथीवृन्द र अधिकृतहरूको परिवारजनको उल्लेखनीय उपस्थिति रहेको थियो।

