काठमाडौं – जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले ११५ दिनपछि पदबाट राजीनामा दिएका छन्। राजीनामापछि सार्वजनिक वक्तव्य जारी गर्दै उनले आफू जिम्मेवार नागरिकका रूपमा जनतामाझ उभिएको बताएका छन्।
उनका अनुसार सम्माननीय प्रधानमन्त्रीको अनुरोध र जेन–जी आन्दोलनको चाहनाअनुसार उनले मन्त्रीको जिम्मेवारी स्वीकार गरेका थिए। प्रधानमन्त्री र परिवर्तनको पक्षमा उभिएको जेन–जी आन्दोलनप्रति आभार व्यक्त गर्दै उनले आफूलाई विश्वास गर्ने सम्पूर्ण नेपाली जनताप्रति धन्यवाद ज्ञापन गरेका छन्।
राजीनामालाई भाग्ने वा जिम्मेवारीबाट पन्छिने निर्णय नभई आत्मसम्मान, नैतिकता र सिद्धान्तको निरन्तरता भएको स्पष्ट पार्दै उनले भने, “पदभन्दा ठूलो मूल्य सिद्धान्त हो, कुर्सीभन्दा माथि आत्मसम्मान र सरकारभन्दा ठूलो जनता हुन्।”
उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहमति भए पनि आफू अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्य नरहेको र औपचारिक राजनीतिक प्रवेशपछि मात्र सदस्यता लिने स्पष्ट धारणा रहेको उनले बताएका छन्। राजीनामापछि ‘आफ्नो मान्छे’ नियुक्त गर्न दबाब दिएको भन्ने प्रचारको खण्डन गर्दै उनले सत्य सधैं प्रचारभन्दा बलियो हुने टिप्पणी गरेका छन्।
मन्त्री कार्यकालमा जनतालाई केन्द्रमा राखेर काम गरेको दाबी गर्दै उनले सिँचाइ, ऊर्जा, पूर्वाधार र शहरी विकास क्षेत्रमा महत्वपूर्ण नीतिगत सुधारको जग बसालेको बताए। सर्लाही र रौतहटमा ५०० डिप ट्युवेल निर्माण गरी २२ हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने निर्णय, बहुउद्देश्यीय आयोजनामा कृषकको लगानी सुनिश्चित गर्ने व्यवस्थापन मोडेल, नेपाल–भारतबीच ४०० केभी प्रसारण लाइन निर्माणसम्बन्धी संयुक्त सम्झौता, भारत र बंगलादेशसँग विद्युत आयात–निर्यात विस्तारका सहमति उनले उल्लेख गरे।
जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाको पुनर्निर्माण, कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृति, मनसुनजन्य विपद् व्यवस्थापनमा सक्रिय भूमिका, वर्षौं अलपत्र परेका पुल–सडक र जलस्रोत आयोजनाका रुग्ण ठेक्का तोडेर पुनः निर्माण अघि बढाइएको उनले बताए। डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गर्ने उद्योगबाट बक्यौता महसुल उठाउन सुरु गरिएको, बञ्चरेडाँडा फोहोर व्यवस्थापन, मेलम्ची पानी, कोदारी नाका र बीपी राजमार्ग सञ्चालनमा ल्याइएका उपलब्धिका रूपमा उनले उल्लेख गरे।
“व्यक्ति बदलिन सक्छन्, तर सही नीति, सोच र जनताको चाहना रोकिन्न,” भन्दै उनले सुरक्षित सडक, समुन्नत पूर्वाधार र आत्मनिर्भर राष्ट्रको सपना साझा लक्ष्य भएको बताए।
अन्त्यमा उनले पदबाट बाहिरिए पनि जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै नहट्ने प्रतिबद्धता जनाउँदै उज्यालो नेपाल बनाउन सशक्त रूपमा राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन्।
