अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै समर्थनमा भएको आन्दोलनबाट सत्ताच्युत भएका अनुभवि प्रधानमन्त्रीसँग चुनावी मैदानमा आमने-सामने हुने भएका छन् । सन् २०२५ को सरकार ढाल्ने युवाहरूको मागको नेतृत्व गरेका शाह तत्कालीन प्रधानमन्त्रीविरुद्ध चुनावी मैदानमा होमिएका हुन्।

३५ वर्षीय शाहले आमनिर्वाचनमा उम्मेदवारी दिन काठमाडौँ महानगरपालिकाको मेयर पदबाट गत साता राजीनामा दिएका थिए। उनले जनवरी २० मा राजिनामा घोषणा गर्दै अपदस्थ प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने बताएका हुन्।

नेपालमा मार्च ५ मा आमनिर्वाचन हुँदैछ, जुन सेप्टेम्बर २०२५ मा भएको व्यापक भ्रष्टाचारविरोधी आन्दोलनपछि हुन लागेको पहिलो निर्वाचन हो। उक्त आन्दोलनले ७३ वर्षीय मार्क्सवादी नेता तथा चारपटकका प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाएको थियो।

“ठूलो व्यक्तित्व विरुद्ध प्रतिस्पर्धा गर्नु भनेको म सजिलो बाटो रोजिरहेको छैन भन्ने सन्देश हो,” औपचारिक उम्मेदवारी पुष्टि हुनुअघि एएफपीसँग कुरा गर्दै शाहले भने।

“देशलाई असर पारेका समस्या र विश्वासघातका बाबजुद हामी ती विषय समाधानतर्फ अघि बढिरहेका छौँ भन्ने कुरा यसले देखाउँछ,” उनले थपे।

‘बालेन’ नामले बढी चिनिने पूर्वमेयर अन्तर्वार्ताका लागि काठमाडौँको एक होटलमा कालो पहिरन र परम्परागत नेपाली टोपी लगाएर पुगेका थिए, तर उनको पहिचान बनेका गाढा चारकुने कालो चस्मा भने लगाएका थिएनन्।

भ्रष्टाचार र असमानतामाथि प्रहार गर्ने उनका हिप–हप गीतहरूले लाखौँ भ्युज पाएका छन्।

राजनीतिमा आउनुअघि सिभिल इन्जिनियर तथा र्‍यापर रहेका शाहले सन् २०२२ मा काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएर राजनीतिक वृत्तलाई अचम्मित तुल्याएका थिए ।

उनले कर छली, ट्राफिक जाम, शिक्षा र सहरी फोहर व्यवस्थापनविरुद्ध अभियान चलाउँदै ठाडो बोल्ने सुधारकको छवि बनाएका थिए।

तर, उनको कार्यशैलीमाथि व्यापक बलप्रयोग गरिएको र पत्रकारसँग संवाद गर्नुको साटो सामाजिक सञ्जालका लाखौँ समर्थकमार्फत सिधै कुरा गर्ने गरेको भन्दै आलोचना पनि भयो।
“अनौपचारिक व्यवस्थामार्फत चलाइँदै आएका धेरै प्रक्रियालाई खुला खरिद प्रणालीमार्फत पारदर्शी बनायौँ,” उनले भने।

बढ्दो प्रभाव
डिसेम्बरमा शाह टेलिभिजन प्रस्तोताबाट नेता बनेका ५० वर्षीय रवि लामिछाने नेतृत्वको मध्यमार्गी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका थिए ।

सन् २०२२ को निर्वाचनमा संसदको चौथो ठूलो शक्ति बनेको रास्वपाले सन् २००६ मा गृहयुद्ध समाप्त भएयता नेपालमा प्रभुत्व जमाइरहेका दलहरूलाई चुनौति दिएको थियो।

रास्वपाले संसदमा बहुमत ल्यायो भने शाह प्रधानमन्त्री बन्नेछन्।
“हाम्रो विचारधारा एउटै छ,” शाहले भने, “ त्यो गरिबका लागि निःशुल्क शिक्षा र स्वास्थ्यसहित सामाजिक न्यायमा आधारित उदार आर्थिक प्रणाली” को परिकल्पना हो।

काठमाडौँलाई आधार बनाएर चुनाव लड्नुको साटो शाहले ओलीको किल्ला मानिने झापा–५ बाट प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन्। यो क्षेत्र काठमाडौँबाट करिब ३०० किलोमिटर दक्षिण–पूर्वमा पर्ने मुख्यतया ग्रामिण जिल्ला हो।

“यसलाई अहंकारपूर्ण निर्णयका रूपमा बुझ्नु हुँदैन,” शाहले भने, “म झापाबाट लड्दा यसको प्रभाव अझ ठूलो हुन्छ।”
सेप्टेम्बर ८ र ९ का प्रदर्शनहरू सुरुआतमा सरकारले प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमा लगाएको छोटो अवधिको प्रतिबन्धविरुद्धको आक्रोशबाट सुरु भएका थिए। ‘जेन–जी’ को ब्यानरअन्तर्गत प्रदर्शनकारीहरू असंगठित रुपमा सडकमा उत्रिएका थिए। तर, तीन करोड जनसंख्या भएको देशमा आर्थिक जडता र गहिरो भ्रष्टाचारजस्ता दीर्घकालीन असन्तुष्टिले आन्दोलनलाई थप उग्र बनायो, जसमा कम्तीमा ७७ जनाको ज्यान गुमाउनु पर्‍यो।

आर्थिक विकासको आवश्यकता
शाहले संयम अपनाउन आग्रह गर्दै आन्दोलनलाई समर्थन गरेका थिए । र, त्यसै क्रममा आन्दोलनका केन्द्रीय पात्रका रूपमा उदाए।

“जेन–जीको पहिलो माग सुशासन हो किनभने देशमा भ्रष्टाचार अत्यन्तै धेरै छ,” आन्दोलनकारीबाट आफ्नो पार्टीले समर्थन पाएको पनि उल्लेख गर्दै उनले भने ।

“जेन–जी आन्दोलनले युवाहरूका लागि ढोका खोलेको छ, हाम्रो केन्द्रीय समितिका ४० प्रतिशत सदस्य र समानुपातिक प्रतिनिधि सेप्टेम्बर आन्दोलनबाट उदाएका नयाँ अनुहार छन्,” उनले भने।

युवा नेपालीहरू आर्थिक सुधारको बाचा गर्ने नेताको खोजीमा छन्। विश्व बैंकका अनुसार सन् २०२४ मा नेपालको ८२ प्रतिशत श्रमशक्ति अनौपचारिक रोजगारीमा छ । यहाँ प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १,४४७ अमेरिकी डलर रहेको छ।

“हामीले अर्थतन्त्र बिस्तार गर्नुपर्छ,” पर्यटन, व्यापार र दक्ष रोजगारीलाई वैदेशिक रोजगारीका लागि भइरहेको व्यापक पलायन रोक्ने उपायका रूपमा उल्लेख गर्दै शाहले भने ।
भारत र चीनजस्ता क्षेत्रीय महाशक्तिहरूको बीचमा अवस्थित स्थलरुद्ध नेपालले भू–राजनीतिक दबाब सामना गरिरहेको छ तर शाहले यसलाई व्यापारिक केन्द्र बन्ने अवसरका रूपमा हेर्छन्।

“मेरो दृष्टिकोण भनेको दुवै छिमेकी देशसँग स्वाभाविक सम्बन्ध कायम राख्नु हो,” उनले भने।

राजनीतिमा केन्द्रित भए पनि संगीत आफ्नो पहिचानको अभिन्न अङ्ग रहेको उनले बताए।

“संगीत आत्म–अभिव्यक्तिको माध्यम हो,” उनले भने, “म प्रधानमन्त्री निर्वाचित भए पनि यसलाई निरन्तरता दिनेछु।” — एएफपी

सिफारिस

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। सभापति पदमा उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित...

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष २०८३/८४...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको...

भर्खरै

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का...

रविले दिए सभापतिमा उम्मेदवारी, बालेन बने प्रस्तावक

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन (तस्वीरहरु)

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

सुर्खेत — नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल...

राहदानी छपाइ प्रकरण : १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं - विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी...

धेरै पढिएको