काठमाडौं –प्रधान सेनापति महारथी अशोकराज सिग्देल बेलायती सेनाका प्रधान सेनापति जनरल सर रोली वाकरको निमन्त्रणामा संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ।
प्रधान सेनापति सिग्देलले असोज १९ गतेदेखि असोज २५ गतेसम्म बेलायतको औपचारिक भ्रमण गर्नुहुने नेपाली सेनाले जनाएको छ।
भ्रमणका क्रममा दुई देशका सेनाबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने जनाइएको छ। नेपाली सेनाका अनुसार भ्रमणले सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।
प्रधान सेनापति सिग्देललाई प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले बिदाइ गर्नुभएको थियो।
प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नुहुनेछ।
