एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको व्यावसायिक क्षमता विकास, पेसागत हकहित संरक्षण, प्रतिलिपि अधिकारको सुनिश्चितता तथा संस्थाको आर्थिक आत्मनिर्भरतामा जोड दिएको छ ।

साधारण सभामा अध्यक्ष प्रदीपराज वन्तले प्रस्तुत गर्नुभएको अध्यक्षीय प्रतिवेदनमा फोटो पत्रकारिताको व्यावसायिक विकास, फोटो पत्रकारहरूको पेसागत सुरक्षा, योगदानको अभिलेखीकरण तथा संस्थागत सुदृढीकरणका विषयलाई प्राथमिकता दिइएको छ ।

अध्यक्ष वन्तले कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोग र तस्बिरको प्रतिलिपि अधिकार संरक्षण फोटो पत्रकारिता क्षेत्रका प्रमुख चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै फोटो पत्रकारको श्रम र अधिकारको सम्मानका लागि प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो ।

फोटो पत्रकारहरूले तस्बिर खिच्ने काममा मात्र सीमित नभई व्यावसायिक सीप, संस्थागत नेतृत्व क्षमता र पेसागत अधिकारका विषयमा समेत सचेत हुनुपर्ने उहाँको भनाइ थियो। नयाँ पुस्तालाई नेतृत्वका लागि तयार पार्दै संस्थालाई बाह्य सहयोगमा मात्र निर्भर नराखी आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासचिव घनश्याम श्रेष्ठले आर्थिक वर्ष २०८२÷८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संगठन विस्तार, क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय सहकार्य तथा फोटो पत्रकारहरूको हकहित संरक्षणका क्षेत्रमा भएका गतिविधिबारे जानकारी गराउनुभयो। कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभाले प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।

साधारण सभाको अवसरमा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ पाँच विधामा प्रदान गरिएको छ। साहसिक विधामा अनुप प्रधान, पर्यावरण–पर्यटन विधामा तनहुँका सागर गिरी, मनोरञ्जन विधामा बद्री थापा, सांस्कृतिक विधामा प्रकाश गोपाली र खेलकुद विधामा पोखराका बसन्त शेर्पा सम्मानित हुनुभएको छ ।

त्यसैगरी, पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाद्वारा स्थापित ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८३’ हरिश सिंह नगाललाई नगद पाँच हजार रुपैयाँसहित प्रदान गरिएको छ। ‘एनएफपिजे प्रेसिडेन्ट अवार्ड–२०८३’ संस्थाका सदस्य रामशरण महर्जन ‘अजय’लाई प्रदान गरिएको छ ।

कार्यक्रममा चौधरी ट्रेडर्सका सञ्चालक प्रमोद चौधरीलाई संस्थालाई पु¥याउनुभएको सहयोगको कदर गर्दै कदरपत्रसहित सम्मान गरिएको थियो ।

वैशाख १३ मा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट आयोजना गरिने

साधारण सभामा अध्यक्ष वन्तले आगामी २०८४ साल वैशाख १३ गते नेपालमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट आयोजना गर्ने घोषणा गर्नुभयो । समिटमा विश्वका विभिन्न देश तथा एसियाका गरी करिब १०० जना फोटो पत्रकार तथा फोटोग्राफरलाई नेपालमा आमन्त्रण गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।
विश्व फोटोग्राफी तथा फोटो पत्रकारितामार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले समिट आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । नेपालको हिमाल, वनजंगल, वातावरण, वन्यजन्तु तथा सांस्कृतिक पर्यटनको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नु समिटको प्रमुख उद्देश्य रहनेछ ।

समिटमा अन्तर्राष्ट्रिय फोटो प्रदर्शनी, अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार, विषयगत छलफल, अनुभव आदानप्रदान तथा फोटो पत्रकारिता र फोटोग्राफीसम्बन्धी तालिम एवं प्रशिक्षण सञ्चालन गरिने अध्यक्ष वन्तले जानकारी दिनुभयो। उहाँका अनुसार समिटले नेपाली फोटो पत्रकारिता र विश्व समुदायबीच सहकार्य विस्तार गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ ‘सागर’ले स्वागत मन्तव्य राख्नुभएको थियो । पूर्वअध्यक्षहरू मीनरत्न बज्राचार्य र विकास रौनियारले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। साधारण सभामा संस्थाका पूर्वअध्यक्ष, केन्द्रीय पदाधिकारी, आजीवन सदस्य तथा अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।

  

सिफारिस

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

भर्खरै

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

धेरै पढिएको