पोखरा – नेपालमा थप १७ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज विहान विज्ञप्ती जारी गर्दै गण्डकी प्रदेशमा थप १७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको जानकारी दिएको हो । निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले स्याङ्जामा १०, कास्की र पूर्वी नवलपरासीमा ३÷३ तथा बागलुङमा १ जना गरी १७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको जानकारी दिए ।
स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष, हरिनास नगरपालिकामा १८ र ४० वर्षका दुई जना पुरुष, कास्कीको रुपा गाउँपालिकामा २३ र ३२ वर्षका पुरुष, पोखरा महानगरपालिकामा ५९ वर्षका पुरुष, नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकामा ३९ वर्षका पुरुषलाई कोभिड १९ को संक्रमण भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोभिड १९ संक्रमितको संख्या ७५ पुगेको छ ।
कोरोना संक्रमण पुष्टि भएका सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिनुभयो । नेपालमा हालसम्म कोभिड १९ संक्रमितको संख्या २ हजार ९ सय २९ पुगेको छ । कोभिड १९ को कारण ११ जनाको मृत्यु भएको छ ।