जनता समाजवादी पार्टी (जसपा) ले आइतबार साँझ दल दर्ता गरेको छ। नेतृत्व विवादले दर्ता हुन नसकेको जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहनेगरी सहमति भएपछि दल दर्ता भएको हो।
जसपाका नेता केशव झाले आयोगमा १३५२ नम्बरमा दल दर्ता भएको बताए। तर, आइतबार दिउँसो भएको सहमति भने उल्टिएकोे छ। जसपामा बाबुराम भट्टराईलाई पहिलो वरियतामा राख्ने र तीन जना अध्यक्ष रहने सहमति भएको थियो।
आयोगमा दल दर्ता गर्दा भने भट्टराईको वरियता चौथो नम्बरमा राखिएको छ। भट्टराई भन्दा माथि अशोक राईलाई राखिएको छ। पाँचौं नम्बरमा राजेन्द्र महतो रहने भएका छन्।
गएको ११ वैशाखमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच एकीकरण घोषणा भएको थियो । तर, नेतृत्वमा सहमति जुट्न नसक्दा दल दर्ता हुन सकेको थिएन।
