काठमाडौं- नेपालमा मनसुन भित्रिएको छ ।
मनसुन भित्रिएसँगै देशका विभिन्न स्थानमा यसको प्रभाव देखिन थालेको छ ।
हाल नेपालको पूर्वी भू–भागबाट मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसका कारण आज देशका धेरै भूभागमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले जानकारी गराएका छन् ।
सामान्यतयाः १० जुन मा नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्दछ । तर यस वर्ष दुई दिन ढिलो अर्थात् १२ जुनदेखि मनसुन नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यससँगै पानी पर्ने क्रम बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न विभागले सबैलाई अनुरोध गरेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका भूभागमा अहिले पश्चिमी वायुको प्रभावले बदली र वर्षाको अवस्था छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा शनिबार पनि पानी परेको थियो । त्यहाँ आइतबार पनि बदलीको अवस्था छ । पूर्वी भूभागमा पनि अधिकांश स्थानमा बदली रहेको छ ।
