काठमाडौँ- राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको छ।
आज भएको मतदानमा सभामा तत्काल कायम रहेको ५८ जनामध्ये ५७ जनाले मतदान गरेका थिए।
बिहीबार ५७ जना सदस्य उपस्थित भएकोमा उनीहरू सबैले संशोधनका पक्षमा मतदान गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी गराए। राष्ट्रिय सभा ५९ सदस्यीय छ। तीमध्ये एक सिट अहिले रिक्त छ भने अध्यक्षले मतदान गर्दैनन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको संविधान संसोधन दोश्रो विधेयक आजै प्रमाणित गर्ने भएकी छिन् । अतिक्रमित लिम्पियाधुरासहितको नेपालको सम्पूर्ण भूभाग समेटिएको नेपालको नयाँ नक्सा आज राष्ट्रियसभाबाट दुई तिहाई बहुमतले पारित भएको छ । यसअघि प्रतिनिधिसभाबाट गत जेठ ३१ गते संविधानको धारा ९ को उपधारा २ अन्तर्गत अनुसूची ३ मा रहेको निशान छापभित्र रहेको नेपालको नयाँ नक्सा राख्ने प्रस्ताव पारित भएको थियो ।
