- अजय लेन्सम्यान
काठमाडौं – असार महिना सुरू भएसंगै खेतमा रोपाईको चहल पहल बढेको छ । सामान्यतया असार १५ पछि रोपाई सुरु हुने मानिए पनि काठमाडौं उपत्यका वरपरका क्षेत्रमा रोपाई सुरु भइसकेको छ । लगातार भइरहेको वर्षाका कारण पनि किसानलाई रोपाईं गर्न सजिलो भएको छ ।

किसानलाई रोपाई गर्न न कोरानाले न त लकडाउनले छेकेको छ, मानिसहरु आ -आफनो घरमा रहेकाले पछिल्ला वर्ष भन्दा यो वर्ष अलि छिट्टै रोपाइ सकिने अनुमान गर्न सकिन्छ ।

मानो रोपेर मुरी फलाउने समय भएकाले अधिकांश कृषक यतिवेल व्यस्त छन् । छुपुछुपु धान रोपेको दृश्य देख्न थालिएको छ । यसरी धान रोप्ने क्रममा छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला, बनाई कुलो लगाई पानी आएर गोडौला जस्ता असारे भाका गाउने गरिन्छ ।





