बिरगंज- पर्सा जिल्लाको इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीमा निर्मित महिला प्रहरी भवनको शिलान्यास गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले महिला प्रहरी भवनको शुक्रवार शिलान्यास गरेकी हुन् ।
पन्तले महिला प्रहरीको लागि छुट्टै भवनको निर्माण गरेकोमा पटेर्वा सुगौली गाउँपालिकाको प्रशंसा पनि गरिन्। उनले कोभिड–१९ महामारीमा प्रहरीले खेलेको भूमिका पर्याप्त नभएको भन्दै यो अभियानमा सबैको सहकार्य आवश्यक रहेको बताइन। प्रहरी एक्लैले कोभिड–१९ रोकथाममा अहम् भूमिका खेल्न नसक्ने भन्दै उनले समाजको सहकार्य आवश्यक भएको जिकिर गरिन्।

प्रहरी उपरीक्षक पन्तले इप्रका, पटेर्वासुगौलीमा महिला प्रहरीको दरबन्दी नभए पनि महिला प्रहरी भवन निर्माण गरिएको कारण एक साताभित्र दुईजना महिला प्रहरी खटाउने प्रतिबद्धता जाहेर गरिन्। उनले जिल्लामैं महिला प्रहरीको सङ्ख्या ७० मात्र रहेको बताउँदै सो अपुग भएको बताइन्। उनले पर्सामा कम्तीमा दुई सय महिला प्रहरी आवश्यक रहेको बताइन । महिला प्रहरीको अभावमा वीरगंज महानगरबाहेक पोखरिया नगरपालिकामा मात्र महिला प्रहरी खटेका छन्।
पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ममता महतो, निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादव, शिक्षक सुभाष दासलगायतले मन्तव्य व्यक्त गरेका थिए। इप्रका पटेर्वासुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले गाउँपालिकाको रु १५ लाखको लागतमा दुई कोठे सुविधा सम्पन्न महिला प्रहरी भवन निर्माण गर्न लागिएको बताए।
