काठमाडौँ- दैलेखको नौमूले गाउँपालिकाका २१ कोरोना संक्रमित क्वारेन्टाइनबाट भागेका छन् ।
भैरव माविको क्वारेन्टाइनमा राखिएका २१ जना कोरोना संक्रमित बिहीबार राती भागेको गाउँपालिकाले जनाएको छ ।
उनीहरुलाई क्वारेन्टाइनमै फर्काउन प्रहरी परिचालन गरिएको छ । नौमूले बजारस्थित भैरव माविमा रहेको क्वारेन्टाइनमा ९४ जनालाई राखिएको थियो ।
झण्डै दुई हप्तासम्म पनि दोस्रो पटक पीसीआर परीक्षण नगरिएको भन्दै संक्रमित क्वारेन्टाइनबाट भागेको बताइएको छ ।
अध्यक्ष बुढामगरले सबै संक्रमितको खोजी कार्य जारी रहेको बताए । संक्रमित भागेको खबर आएपछि जिल्ला प्रहरी कार्यालय दैलेखबाट थप प्रहरी परिचालन गरिएको डीएसपी हरिबहादुर ओलीले बताए।
