काठमाडौँ- नेपालमा केहि दिनयता मनसुन सक्रिय हुदै गएको छ । जसका कारण केहि दिनयता देशका धेरै भू–भागमा बर्षा भइरहेको छ । आज पनि देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि भारी वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।
राति पनि देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
