काठमाडौँ — यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन निर्णय गरेको हो ।
विद्यार्थीको आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । यसअघि कक्षा ११ को परीक्षा बोर्डले सञ्चालन गर्ने गथ्र्यो । कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्ध गर्ने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए ।
कक्षा १२ को विषयमा भने अहिलेसम्म कुनै पनि निर्णय भएको छैन । १२ कक्षा विद्यालय तहको अन्तिम कक्षा भएकाले अनुकुल समयमा बोर्ड परीक्षा नै सञ्चालन गरिने शिक्षा मन्त्रालयले बताउँदै आएको छ । एसईईको नतिजा प्रकाशनका लागि विद्यार्थीले आन्तरिक मूल्याङनमा प्राप्त गरेको अंक संकलनको काम भइरहेको छ । असार मसान्तभित्र देशभरबाट बोर्डमा अंक प्राप्त भएपछि साउन १५ सम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य लिइएको छ ।