ज्ञानु श्रेष्ठ
रामेछाप – मंगलबार विहानै जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गरी कोरोनाको संक्रमणबाट जोगिन मास्क अनिवार्य गर्न आग्रह गरेको छ । कोरोनाको संक्रमण बढीरहेको बेला सर्वसाधारणले सावधानिको कुरामा ध्यान नदिएको भन्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जारी गरेको सूचनामा भनिएको छ – सूचनाको बर्खिलाप भएको पाइएमा कानुन बमोजिम कारवाहि हुनेछ ।
स्थानीय प्रशासनले जारी गरेको सूचनामा के कुरा उल्लेख छ र कस्तो कारवाहि हुन्छ ? भन्ने कुराको ख्याल सर्वसाधारणले गरेका छैनन् । कोरोनाको संक्रमण बढी रहेको बेला यसबाट बच्ने उपायका लागि साबधानी अपनाउने को दर घटीरहेको छ । कोरोना संक्रममितको संख्या बढेको सूचना पाउदा पाउदै सर्वसाधारणले त्यसलाई हेलचेक्र्याई गर्न थालेका हुन् ।
‘विगतमा धेरै डर थियो, कोहि मानिस भेट्यो कि परपरै भाग्थ्यौं ’ स्थानीय सुनिता थापा भन्छिन् – तर अहिले त्यस्तो लाग्दैन । कोरोना समाजमा फैलिरहेको थाहा पाउदा पाउदै पनि मास्क लगाउन, साबुनपानीले हात धुन र दुरी कायम गर्न करिव करिव अधिकांशले छोडेका छन् ।
लकडाउनको बेला बजार वन्द थियो, यातायातका साधन प्राय ठप्प थिए, मानिसहरु मास्कको प्रयोग गर्थे, कार्यालय या निकायको बाहिर साबुनपानीले हात धुन लगाईन्थ्यो । थापा भन्छिन् – त्यस्तो बेला थियो भन्दा अहिले हो र ? जस्तो लाग्छ । अहिले अधिकांशको मुखमा मास्क हुदैन , भएपनि चिउडो मुनि हुन्छ । कोरोना सकिएको जस्तो भइरहेको छ । विगतमा दुई जना जम्मा हुदां सामाजिक दुरीको चिन्ता गर्ने सर्वसाधारणहरु अहिले दर्जनौ एकै थलोमा भेला भइरहेका हुन्छन् ।
लकडाउन सकिएपछि बजार खुलेको र मानिसहरुको भिडभाड बढीरहेको छ ।
बजारमा को कहांबाट आयो भनेर सोधखोज गर्ने र नौलो मानिस आए प्रहरीलाई भन्ने सम्मको काम विगतमा हुने गरेको थियो । मन्थली देबकोटा चोक टोल विकास संस्थाका अध्यक्ष सुरेश उदास भन्छन् – म नै हुं, बजारमा कोहि नौलो मानिस आयो भने आरडिटि गराएर क्वारेन्टाईनमा राख्ने मान्छे । तर अहिले हिसावै लिन गाह्रो भएको छ । सवै आएका छन् । को कहांबाट आयो ? भन्ने कुराको टुंगो छैन ।
आर्थिक बर्षको अन्त्य भएकाले विकासको कामको चटारो उत्तिकै छ । भुकम्पबाट भत्केका संरचनाहरुको पुननिर्माणमा लागेका प्राविधिकहरु अधिकांश कोरोना अतिप्रभावित जिल्लाहरु (तराइ) बाट आइरहेका छन् । ‘यसो हेर्दा अहिले कोरोनाको डर हैन, काम प्यारो भएको जस्तो लागेको छ’ मझुवाका कृष्णवहादुर तामाङ्ग भन्छन् – परिक्षण नगरेका कयौं समाजमा छिरेका छन् । सवैलाई काम सक्नुछ, कोरोनाको त्रास लिने र साबधानि अपनाउन छोडीएको छ ।
स्वास्थ्य कार्यालय र स्थानीय सरकारले पहिलेको जस्तो सावधानिका लागि प्रयत्न गरेको छैन । क्वारेन्टाइन र आइसुलेसनको व्यवस्थापनमा जोड दिएका स्थानीय सरकारले बजारकेन्द्रहरुमा भएको भिड नियन्त्रण, सावधानिका अरु विधिहरुको अबलम्बन गर्न छोडेका छन् । पहिले प्रचार, साबुनपानीले हात धुनका लागि सहयोग, सेनिटाइजर र बजार क्षेत्रमा विषाधि छरिन्थ्यो उक्त क्रम अहिले छैन ।
रामेछापमा कोरोनाको परिक्षणमा पनि शिथिलता आएको छ । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णका अनुसार आईतबारसम्म जिल्लामा ८ सय ७१ जनाको आरडिटि र ४ सय ७ जनाको पिसीआर परिक्षण गरीएको छ । परिक्षण गराउने अधिकांश भारतबाट आएका छन् । स्वाब परिक्षणमा २३ जना संक्रमित पाइएको र ति मध्ये १२ जना अझै आइसुलेसनमा छन् । हाल परीक्षणको कुरालाई प्राथमिकतामा राखिएको छैन । विभिन्न स्थानीय तहको क्वारेन्टाईनमा अझै १ सय भन्दा बढी रहेका छन् ।
