काठमाडौँ- पहिरोमा हराइरहेकामध्ये म्याग्दीका १२ जनाको शव भेटिएको छ भने अझै २३ जना बेपत्ता छन् ।
शुक्रबार तीन जनाको शव भेटिएको थियो । धवलागिरि गाउँपालिका ६ मराङमा एक बालकसहित ९ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डीएसपी किरणजङ कुँवरले जानकारी दिए ।
मराङमा एक सुत्केरी महिलासहित ८ जनालाई तत्काल उद्धार गर्नुपर्ने देखिएको छ भने ५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । उद्धार टोली अझै मराङ पुग्न सकेको छैन । मालिका बिममा भने टोली पुगेको छ । बिममा ९ जना पहिरोमा पुरिएका छन् ।
शुक्रबार उद्धार टोली लिएर हेलिकप्टर जान लागेको थियो । तर पानी र हुस्सुका कारण तीन पटकसम्म हेलिकप्टर फर्किएको थियो ।
अझै बेपत्ता हुनेहरुमा धवलागिरि ६ मराङका १४ जना र मालिका गाउँपालिका ७ बिमका ९ जना छन् ।