काठमाडौं- देशभर मनसुन थप सक्रिय बन्दै गइरहेको छ । केहि दिनदेखि विभिन्न जिल्लाका जनधनको ठूलो क्षति गराइरहेको बर्षाको वितण्डा अझै केहि दिन जारी रहने मौसमविदले जनाएका छन् ।
अझै तीन दिनसम्म देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज देशभर सामान्यदेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशका थोरै ठाउँमा र गण्डकी प्रदेशको एक–दुई ठाउँमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लगातार पानी परेपछि इलाम, झापा, मोरङ, गोरखा, धादिङ, कास्की, स्याङजा, बागलुङ सिन्धुपाल्चोक र आसपासका साना खोलामा पानीको बहाव उच्च रहेको छ ।
कोशी र कन्काइमा पानीको सतह खतराको तहमा पुगेको छ भने कर्णालीमा पनि खतराको तह पार गर्ने अवस्था रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज दिउँसो र राति पनि प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशका थोरै ठाउँ र गण्डकी, प्रदेश–५ का एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो देका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।
मनसुनका बेला ५० मिलिमिटर भन्दा माथिको वर्षालाई भारी मानिन्छ । बितेको २० घण्टामा उपत्यकामा ९.३ मिलिमिटर वर्षा भएको छ । मौसमविद् प्रधानाङ्गका अनुसार बितेको २४ घण्टामा प्रदेश–१, २, गण्डकी तथा बागमती प्रदेशका पनि एक–दुई स्थानमा भारी वर्षा भएको छ ।
