डम्बर निदाल
डडेल्धुरा – यातायात व्यवसायीले मनोमानी ढंगले भाडा असुलेको भन्दै नेपाल बिद्यार्थी संघ डडेल्धुराले विरोध प्रदर्शन गरेको छ । सरकारको नियम पालन नगरी सार्वजनिक यातायात सञ्चालकले यात्रु बाट दोब्बर बढी भाडा असुल्ने गरेको भन्दै नेविसंघले जिल्ला सदरमुकाम बागबजारमा बुधबार प्रदर्शन गरेको हो ।
यातायात व्यवसायीका अगाडी स्थानिय सरकार एवं प्रहरी प्रशासन निरह भएको भन्दै नेविसंघ डडेल्धुराले गैरकानुनी कार्य बन्दको माग गरेको छ । लकडाउन खुले पनि सरकारले तय गरेका मापदण्ड यातायात व्यवसायीले पालना नगरेको भन्दै बिद्यार्थीहरुले नियमको पालना गर्न अनुरोध गरे ।

बुधबारदेखि लकडाउन खुलेपछि पनि जिल्ला सदरमुकाम देखि स्थानिय तहका विभिन्न स्थानमा सञ्चालन हुने सवारीका साधनले मनोमानी ढंगले यात्रु बोक्ने र बढी भाडा असुल्न थालेपछि सरकारको ध्यानाकर्षण सहित यातायात व्यवसायीले मापदण्ड अनुसार सवारीका साधन सञ्चालन गर्न नेविसंघले प्रदर्शन गर्दै अनुरोध गरेको छ ।
लकडाउनका कारण कयौ समस्याका बिच गुजरा गरि रहेका स्थानियबाट चर्काे भाडा असुल नगर्न बिद्यार्थीहरुले सरकार र यातायात व्यवसायीसंग माग गरे । नेपाल स्वयं सेवक संघको समेत ऐक्यबद्धता रहेको प्रदर्शनमा नेविसंघले यात्रुलाइ पनि सुरक्षित र सचेत रहन आग्रह गरेको छ ।

जिल्ला सदरमुकामको बागबजार स्थित बस पार्कबाट नेविसंघले सरकार र यातायात व्यवसायी विरुद्ध नाराबाजी गर्दै भिमदत्तचोकमा कोण सभा गरेको थियो । कोण सभालाई सम्बोधन गर्दै नेविसंघ नेता तथा स्वयं सेवक संघका पदाधीकारीहरुले गैरकानुनी कार्य बन्द गर्न आह्वान गरे । बिद्यार्थी र युवालाई कमजोर नठान्न बिद्यार्थीको आग्रह थियो ।
डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति जगत ऐरले भाडादर मापदण्ड अनुसार नलिइ गाडी मालिक तथा चालकले मनपरी नै गर्ने हो भने नेविसंघ चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
पहिलो पटकलाई सरोकारवाला निकाय, यातायात व्यवसायी, स्थानीय निकाय र जिल्ला प्रशासनलाई सांकेतिक रुपमा जानकारी गराएका र भाडादर मापदण्ड अनुसार कायम नगरी जथाभावी गरे कडा आन्दोलनमा उत्रिने नेबिसंघले जनाएको छ । अनुगमन नियमन गर्ने निकायले समयमै ध्यान दिइ यात्रु तथा सर्वसधारणलाई परिरहेको समस्यालाई सहज गर्नमा सहयोग गर्नसमेत अनुरोध गरेका छन् ।
