काठमाडौं- पत्नी हत्याको कसुरमा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका रञ्जन कोइरालालाई सजाय घटाएर उन्मुक्ति दिने फैसलाविरुद्धको पुनरावलोकनमा सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुने भएको छ।
पहिलो चरणमा सर्वोच्च अदालतका तीनजना न्यायाधीशको च्याम्बरमा यसको सुनुवाइ हुनेछ। आइतबार यो सुनुवाइमा फैसला गर्ने न्यायाधीशहरु संलग्न हुन नपाउने व्यवस्था छ। तीन न्यायाधीशले बसेर अध्ययन गरेपछि इजालसमा सुनुवाइका लागि अनुमति दिने कि नदिने भन्ने टुंगो लाग्ने छ। तीन सदस्यीय बेन्चले निस्सा दिएको खण्डमा सुनुवाइ प्रक्रिया अगाडि बढ्छ र इजालस तोकिने छ।
श्रीमती हत्या कसुरमा सर्वस्वसहित कैद भोगिरहेका रञ्जन कोइरालाको सजाय सर्वोच्च अदालतले घटाइ दिएपछि उनी साउन ८ गते छुटेका हुन्।
काठमाडौँ जिल्ला अदालतले कोइरालालाई सर्वस्वसहित जन्मकैद गरेको सजायलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०७२ मंसिर २३ गते सदर गरेको थियो। उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत असार १५ गते कोइरालालाई तोकिएको सजायमा भारी छुट गर्दै ८ वर्ष ६ महिनामा झारिदिएको थियो।
