काठमाडौं -आज देखि साउन १६ गतेसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १ र २ का अधिकांश स्थानमा भारी वर्षा हुने र बाढी पहिरोको जोखिम रहेको छ ।
आज रातिदेखि मनसुन सक्रिय भई मंगलबार र बुधबार बाढी, पहिरो र डुबानको जोखिम भएकाले सकेसम्म यात्रा नगर्न, गर्नैपरे उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
पाँच दिनसम्म गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ का मध्ये पहाडी भूभागका नदीहरूमा जलसतह बढ्ने विभागले जनाएको छ । बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिमका भने केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।
विभागले चुरेबाट बग्ने साना र मझौला खोलानालाको वहाव बढ्ने सम्भावना रहेको भन्दै विभागले सर्वसाधारणलाई सावधान रहन र सरोकारवाला निकायलाई सतर्कता अपनाउन भनेको छ । प्रिमनसुनको समयदेखि नै पानी परिरहेकाले यो वर्ष पहिरोको जोखिम बढेकाले थप सतर्क हुनुपर्ने मौसमविदको भनाइ छ ।
