रामेछाप – मन्थली नगरपालिका वडा नम्बर २ थापागाउँमा निर्माण भएको वडा कार्यालय भवनको शुक्रबार एक समारोहका विच उद्घाटन गरीएको छ । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले उक्त वडा कार्यालय भवनको उद्घाटन गरेका हुन । संघीय संरचनामा मुलुक गएपछि मन्थली नगरपालिका भित्र पहिलो वडा कार्यालय भवन निर्माण भएको हो । नगरका अन्य २ वटा वडा भवनको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।
कार्यवाहक वडा अध्यक्ष जनक खत्रीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख बस्नेतले भवनको साँचो वडालाई हस्तान्तरण गर्नुका साथै सिलालेखको अनावरण गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा जनप्रतिनिधिहरुले निर्वाचित भएर आएपछि राजनीतिक आश्थालाई पर राख्नु पर्नेमा उनले जोड दिए । ‘यो वडा कार्यालय भवन निर्माणको लागि जग्गा व्यवस्थापन र निर्णय गर्ने कुरामा मैले अपमानित हुनु परेको छ ’ बस्नेतले भने – तर म राजनीतिक संक्रिनताबाट माथि उठेर नगरको विकासका लागि यो र त्यो पार्टी नभनी काम गर्छु ।
उनले विगतमा सवैले साझा वुझाई र सहयोग गरेकालेनै वडा कार्यालय भवन समयमानै निर्माण पुरा भएको बताए । उनले वडाको विकासका लागि अरु पूर्वाधारको काम समेत हुदै गरेको वताउदै वडाबासीलाई आयमुलक कार्यमा लाग्न आग्रह गरे । ‘विकास भएर मात्र पुग्दैन’ बस्नेतले भने – जवसम्म आफ्नो आम्दानीको बाटो नहेर्दा सम्म हामी सम्पन्न हुन सक्दैनौं ।
कार्यक्रममा नगरपालिकाका उप सचिव हेमन्त वहादुर बुढाथोकीले मन्थली नगरले भौतिक संरचना निर्माण गर्ने क्रममा वडा नम्बर २ को भवन पुरा भएको र अब यसले स्थानीय सरकारको अनुभुति गराउने बताए । उनले घर दैलोमा सरकार भएको अनुभुति वडा र त्यसमा हुने कार्य संचालनले नागरिकलाई दिन सक्नु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा वडा भवन निर्माणका लागि जग्गा दान गर्ने स्थानीय बलवहादुर कार्की, दिपककुमार क्षेत्री र शंकर थापालाई सम्मान गरिएको थियो । उनीहरुले भवन निर्माणका लागि ३ रोपनी ४ आना जग्गा नि:शूल्क उपलव्ध गराएका थिए ।
कार्यालय, बैठक कक्ष, भान्सा, सौचालय र अतिथिकक्ष समेत रहेको २ तले उक्त भवन निर्माणका लागि १ करोड ६ लाख ७६ हजार खर्च भएको थियो । निर्माण कार्यका लागि लालसुभ मेन्दो निर्मााण सेवा सम्लग्न थियो । उक्त निर्माण सेवाले संझौता अवधि भित्रै निर्माण कार्य पुरा गरेर भवन बुझाएको हो ।
