काठमाडौं- मनसुन गराउने न्यून चापीय रेखा नेपाल नजिक रहेकाले नेपालमा पानी पर्ने क्रम अझै निरन्तर रहने मौसमविदले बताएका छन् । आज बिहान देशका सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसमविद्ले जानकारी दिएका छन् ।
आज बाग्मती प्रदेश, प्रदेश–५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश–१, प्रदेश–२ र कर्णाली प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
‘देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, प्रदेश नं ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका १–२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’
