डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरामा आज शुक्रवार राती १२ देखि जिल्लाव्यापी रूपमा लागु हुने गरी आंशिक लकडाउन अर्थात बन्दाबन्दी थप गरीएको छ भने जिल्लामा संचालित निजि तथा सार्वजनिक सवारीसाधन (मोटरसाईकल ) मा समेत जोरबिजोर लागु गरीएको छ ।
जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रवार बसेको बैठकले शुक्रवार राती देखि लागू हुने गरी डडेल्धुरा जिल्लालाई एक साता आंशिक लकडाउन थप गरेको हो । जिल्लामा संचालित अतिआवश्यक सेवा तथा बस्तुहरु बिक्री वितरण गर्ने पसलहरू बाहेक अन्य सम्पूर्ण पसलहरू शुक्रवार राती देखि यहि भदौ १९ गतेसम्मका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै संचालन गर्न पाउने निर्णय गरेको छ ।
जिल्लामा संचालित हुने निजि तथा सार्वजनिक सवारीसाधन (मोटरसाईकल ) मा समेत शुक्रवार राती देखि नै जोर–बिजोर प्रणाली लागू गरिने सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए । यसै गरी जिल्लामा संचालित बैङ्क तथा वित्तिय संस्थाहरु पनि बिहान ८ बजे देखी १२ बजे सम्म मात्र संचालन गरीने छन् ।
सुदुरपश्चिमको पहाडी जिल्लाको केन्द्र बिन्दुमा रहेको डडेल्धुरा जिल्ला भएर आउने जाने सवारी साधन हरु लाई यस जिल्लाको सदरमुकाममा बिना काम पार्किङ गर्न नपाईने र जिल्ला सदरमुकाममा मालसामान लोड अनलोड समेत बिहान ८ बजे भित्र गराई गनतव्य स्थल तर्फ जानु पर्ने समेत निर्णय गरेको छ ।
साथै अन्य ब्यवस्थाहरु यस अघिकै निर्णय अनुसार हुने जनाएको छ । यस अघि यहि भदौ ४ गते बिहिवार देखी १२ गते शुक्रवार सम्मका लागी आंशिक लकडाउन गरेको थियो । निर्णयको उल्लंघन हुने क्रियाकलाप कसैबाट भए गरेमा संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासन कार्यालयले जनाएको छ ।

