काठमाडौं – सरकारले आज बिहिबारदेखि काठमाडौं उपत्यकामा दशैं तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार विभिन्न सामानको उपभोग्य मूल्यमा छुट घोषणा गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने जानकारी दिएको हो । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले आजदेखि काठमाडौं उपत्यकाका ४९ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आउन लागेको जानकारी दिए ।
मन्त्रालय मातहका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सञ्चालनमा आउन लागेका सुपथ मूल्य पसलहरुबाट सामान खरिद गर्दा अन्य पसलको तुलनामा सस्तो पाइने छ । घोषणा गरिएको छुट अनुसार नुन प्रतिकेजी १८ रुपैयाँका दरले एउटा परिवारलाई ४ केजी मात्रै खरिद गर्न मिल्ने छ ।
त्यस्तै चिनी ७० रुपैयाँ प्रतिकेजीका दरले प्रति परिवार ४ केजीका दरले खरिद गर्न पाउने सहप्रवक्ता केसीले जानकारी दिनुभयो । त्यस्तै घ्युको मूल्य सरकारले ८ सय ७० रुपैयाँ प्रतिलिटर निर्धारण गरेको छ । सहप्रवक्ता केसीले दशैं तिहार लक्षित गर्दै चामलमा प्रतिकेजी ५ रुपैयाँ, खसी, बाख्रा, च्याङ्ग्राको मासुमा प्रतिकेजी १० रुपैयाँका दरले छुट पाइने बताए ।
