रामेछाप – रामेछापमा आजदेखि निषेधाज्ञा जारी भएको छ। जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र रामेछापले जिल्लाका भिडभाड हुने क्षेत्रमा आज मंगलबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेकाे हो।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरिएण्टसहितको कोभिड–१९ को संकमण तीव्र रुपले फैलिएको भन्दै जाेखिम युक्त क्षेत्रहरु ताेकि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हाे । संक्रमणकाे जाेखिममा रहेका जिल्लाका विभिन्न स्थानहरुमा आजदेखि निषेधाज्ञा जारी भएकाे छ ।

जिल्ला स्तरीय कोभिड –१९ संकट व्यवस्थापन केन्द्र रामेछापको बैठकले मन्थली नगरपालिकाको वडा नं. १ को मन्थली बजार, २ को करम्बाेट,३ को ठूलीमदौ ,६ को कुनौरी र सेलेघाट, ७ को मुगिटार, ८ को गाइखुरा, १२ को देबिटार र १४ को फुलासी पोखरीमा निषेधाज्ञा जारी गरेकाे छ । यसैगरि गोकुलगंगा गाउँपालिकाको वडा नम्बर १,४ र ५ लाइ जोखिमयुक्त क्षेत्र तोकी सो क्षेत्रमा पनि आजबाट बैशाख २७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा ताेकिएकाे सेवा बाहेकका अन्य सेवा बन्द गरिएकाे प्रमुख जिल्ला अधिकारी गाैलाेचन सैजुले बताएका छन् ।
अनावश्यक रुपमा मन्थलीमा निषेधाज्ञालाई अटेर गरेर हिँड्ने गरेको पनि पाइएको छ । अटेर गर्ने धेरै सवारी साधनलाई प्रहरीले समाएर होल्डिङ सेन्टरमा राखेका छन् । निषेधाज्ञा लागु गर्न बिहानैदेखि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीहरू सडकमा खटिएका छन्।




