काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध बहुमत जुटाएर विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि निवेदन दिएकै दिन सत्ता राजनीतिमा फेरबदल आएको छ । दाङबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले सोमबारै प्रेस विज्ञप्ति जारी गर्दै आफू नेकपा एमालेमा रहेको बताएकी छन् ।
विज्ञप्तिमा उनले भनेकी छिन्– मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानूनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्दछु ।
विपक्षी गठबन्धनले आज प्रदेश प्रमुखलाई बुझाएको समावेदनमा उनको हस्ताक्षर भएपनि त्यो सक्कली नभएको एमाले सचेतक भूमिश्वर ढकालले बताए ।
नेकपाबाट निर्वाचित वलीले केही महिनाअघि आफू माओवादीमा रहने बताएकी थिइन् । वलीले एमाले रोजे लगत्तै विपक्षी गठबन्धनको संख्या घटेको छ ।
‘मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्न चाहन्छु’ उनले भनेकी छन्, नेकपा एमाले र माओवादी केन्द्र एकता भएपछि नेकपाको चुनाव चिह्नबाट म चुनावमा उम्मेदवार भएको हो । पार्टी विभाजनपछि म नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको र पार्टी एक दाङ जिल्ला कमिटी सदस्यको हैसियतले समेत बैठकमा सहभागी भएकाले कुनै भ्रममा नपर्नुहुन सबैमा आग्रह गर्दछु ।’
दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित उत्तरकुमार वलीको मृत्यु भएपछि उनकी पत्नी विमला उपनिर्वाचनमा विजयी भएकी थिइन् । उनी नेकपा एमालेमा फर्किएपछि ८० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सांसद संख्या ३९ पुगेको छ ।
प्रदेशसभामा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १९ जना (सभामुखसमेत), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन् । विमला एमालेमा फर्किएपछि विपक्षी गठबन्धनलाई सरकार गठनका लागि प्रदेशसभाको बहुमत नपुग्ने देखिएको छ ।
