सातौं संविधान दिवस टुँडिखेलमा भव्यताका साथ मनाइएको छ । काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा एक कार्यक्रमको आयोजना गर्दै संविधान दिवस मनाएको हो ।

संविधान दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत उपस्थित थिए। समारोहमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु भने सहभागी भएनन्।

संविधान दिवसको अवसरमा टुँडिखेलमा साँस्कृतिक झाँकीहरु प्रस्तुत गरियो। त्यसैगरी हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुका साथै शान्तिका प्रतिक परेवा उडाइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयनबाट मुलुकको समृद्धि र नागरिकको मुहारमा खुसी ल्याउने लक्ष्य सरकारको रहेको बताए।

संविधान दिवस सरकारले असोज दुई गतेदेखि चार गतेसम्म तीन दिने कार्यक्रम गरेर मनाइरहेको छ । आज मुख्य दिन घरघरमा दीपावली गर्न र राष्ट्रिय झण्डा फहराउन सरकारले सबै नेपालीहरुलाई आह्वान गरेको छ । दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।


