काठमाडौं – नेपाल प्रहरीले ६६औं प्रहरी दिवस मनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार विशेष समारोह आयोजना गर्दै मनाएको हो।
प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए ।

समारोहमा प्रधानमन्त्री देउवाले प्रथम महिला प्रहरी सेवा निवृत्त प्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुका साथै उनले कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने यस वर्ष घोषित ३३ जना अमर प्रहरीमध्ये ७ जना अमर प्रहरीका परिवारहरुलाई कदरपत्र प्रदान गरे ।
प्रधानमन्त्री देउवाले नुवाकोट विदुर नगरपालिका-२ का अमर प्रहरी प्रहरी जवान मनोज कुमार हमालका छोरा हार्दिक हमाल र दोलखा लामिडाँडा-८ का अमर प्रहरी प्रहरी सहायक निरीक्षक राम बहादुर खड्काकी छोरी सन्जीवनी खड्कालाई अच्युत-मिना अमर प्रहरी परिवार पुरस्कार तथा वैतडी शिवनाथ-२ का अमर प्रहरी शेर सिंह साउदको छोरा अनिल साउद र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ का अमर प्रहरी प्रहरी जवान राम बहादुर चौधरीकी छोरी नीमृत चौधरीलाई अच्युत-मिना अमर प्रहरी परिवार छात्रवृत्ति प्रदान गरे ।

प्रहरी दिवसको अवसरमा समस्त प्रहरी कर्मचारी तथा सेवा निवृत्त प्रहरी कर्मचारीहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री देउवाले शहादत प्राप्त शहीद, अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरु प्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते भएका प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
समारोहमा विशेष अतिथि गृहमन्त्री बालकृष्ण खाणले नेपाल सरकारको एउटा अभिन्न अंगको रुपमा रहेको नेपाल प्रहरीले नागरिकको जीवन रक्षाको साथै शान्ति सुरक्षा सुव्यवस्था वहाल गर्न, देशमा अमन चयन कायम गर्न, संविधानको रक्षा र विधिको शासनको पालना गराउन अंग्रपक्तिमा रहेर कर्तव्य निष्ठ रहदै आएको चर्चा गरे । अपराध नियन्त्रण र अनुसन्धान एवम् शान्ति सु-व्यवस्था कायम गर्न सबै सुक्षा निकायहरुलाई आधुनिकिकरण गर्न, साधनस्रोत सम्पन्न बनाई नयाँ चुनौतीको सामान गर्न सक्षम बनाउन वर्तमान सरकार ज्यादै संवेदनशील र गम्भीर रहेको उनले बताए ।

बाढी, पहिरो तथा प्राकृतिक विपद् उद्दार, राहत र व्यवस्थापनका लागि तथा कोभिड-१९ को महामारीको समयमा संक्रमणको प्रवाह नगरी अग्रपंक्तिमा नेपाल प्रहरीले आम नागरिकको जीवन रक्षाका लागि निर्वाह गरेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री खाणले आगामी दिनमा नेपाल सरकार अझै प्रहरीमैत्री हुने र प्रहरीको क्षमता वृद्धिका लागि प्रतिवद्ध रहेको बताए । उनले आफ्नै जीवनलाई समेत जोखिममा पारी राज्यले सुम्पिएको दायित्व निर्वाह गर्ने क्रममा आफ्नो प्राण उत्सर्ग गर्ने अमर तथा वीर प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कर्तव्यपालनका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी गतिशिल संगठन भएकोले यसको समुचित कार्य बिशिष्टिकरण प्रहरीको ध्येय हुनुपर्ने चर्चा गरे । समाजले प्रहरीबाट धेरै अपेक्षा र विश्वास गरेको बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, “हाम्रो कर्मक्षेत्र पनि समाज र नागरिक नै हो । यो कर्तव्यबाट नत हामी विमुख हुन नै सक्छौ न समाजले हाम्रो बिकल्प नै खोज्न सक्छ । यो अनन्त : र अटुट सम्बन्धलाई प्रगाढ र विश्वसनीय बनाउनु हाम्रो व्यवसायिक धर्म हो ।”

प्रहरी प्रधान कार्यालयसँग आन्तरिक लिखतको रुपमा ‘नेपाल प्रहरीको कार्ययोजना २०७७’ रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले फिल्ड तहका प्रहरी कर्मचारीको मनोबल तथा प्रहरी कार्य प्रवाह सुदृढिकरण गरी प्रहरी सेवाको विश्वसनीयता अभिवृद्धि गर्न उच्च प्राथमिकतायुक्त बेन्चमार्क क्रियाकलापहरु अगाडि बढाइएको बताए । प्रहरी हवल्दार तथा प्रहरी जवानको मनोबल र उत्प्रेरणा अभिवृद्धिका क्षेत्र पहिचान गरी सोही बमोजिम क्षेत्रगत रुपमा तत्कालिन र दीर्घकालिन योजना बनाइएको बताउँदै नेपाल प्रहरीलाई प्रणालीगत रुपमा सञ्चालन गर्न १३ वटा नयाँ कार्यादेश कार्यान्वयनमा ल्याइएको, प्रचलनमा रहेका प्रशिक्षणलाई नागरिक मैत्री बनाउन ७ वटा पाठ्यक्रमहरु परिमार्जन गरिएको, १० वटा नयाँ पाठ्यक्रमहरु स्वीकृत गरिएको तथा १ सय ३३ वटा कार्यदेश, निर्देशिका र मापदण्ड तर्जुमा गरिएको उनले बताए ।

६६ औं प्रहरी दिवस २०७८ सबै प्रदेश प्रहरी कार्यालयहरु तथा मातहात समेतमा विविध कार्यक्रमहरुका साथ मनाइनुका साथै यस वर्ष घोषित ३३ जनामध्ये २६ जना अमर प्रहरीका परिवारहरुलाई पायक पर्ने प्रदेश प्रहरी कार्यालयहरुमा कदरपत्र प्रदान गरिएको छ ।

